प्रदेश २ को जनकपुर अबको दुई वर्षमा सफासुग्घर र हेर्न लायक हुने भएको छ। धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो।
जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्न जनकपुरधाम सरसफाइ तथा पोखरी संवर्द्धन आयोजना अघि बढाउने सम्झौता भएको छ। खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार अबको दुई वर्षपछि जनकपुरको स्वरुप बदलिन लागेको हो।
उक्त आयोजना अन्तर्गत ३१ वटा पोखरीको सरसफाइ र संवर्द्धन गर्ने, १२ बिघा रंगभूमि मैदानलाई सरसफाइ गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुर धाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ।
चालु आर्थिक वर्षदेखि नै काम सुरु गर्ने योजनाका साथ जनकपुरधाममा कार्य अघि बढाउने तयारी भइरहेको छ।
आयोजनाको अनुमानित लागत भ्याटबाहेक १ अर्ब २ करोड ८० लाख रहेको छ। आयोजना सम्पन्न भइसकेपछि त्यसको सञ्चालन, मर्मतसम्भार आदि कार्यका लागि जनकपुरधाम उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने समझदारी भएको छ।
सम्झौतामा खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय काठमाडौंको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उप–महानगरपालिकाको तर्फबाट मेयर लालकिशोर शाहबीच हस्ताक्षर भएको छ।