शिरीष सम्बाददाता
जनकपुर ११ गते
प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई नायिका रेखा थापाले प्रवद्र्धन गर्ने भएकी छिन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले छोरीको लागि ‘स्वर्णिम नेपाल कार्यक्रम’अन्तर्गत महिला हिंसा तथा बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको रेखा थापा फाउन्डेसनले अबको दिनमा ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको समेत प्रवद्र्धन गर्ने बताए।
मुख्यमन्त्री राउतले समाजिक रुपान्तरणको अभियानअन्तर्गत सरकारले ल्याएको अभियानमा नायिका रेखा थापाले प्रवद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताए। उनले यस अभियानमा अन्य समाजिक व्यक्तित्वहरुलाई समेत जोडिन आह्वान गरे।
नायिका थापाले प्रदेश २ सरकारले ल्याएको कार्यक्रमले आफूलाई अभियानमा सामेल हुन आकर्षित गरेको बताइन्।
उनले यस प्रदेशका बालबालिकाले मुख्यमन्त्रीको रुपमा राम्रो अभिभावक पाएको बताउँदै यस अभियानको सफलताको लागि आफू र आफ्नो फाउण्डेसनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
वर्तमान परिस्थितिमा मधेशमा देखिएको महिला हिंसा, बालविवाह र छोरीचेलीको शिक्षाप्रति उत्सुकता राख्दै थापाले मधेशका छोरीहरुलाई शिक्षाप्रति जागरुक गर्ने कार्यमा सामेल हुने बताइन्।
उनले भनिन्, ‘यो अभियानलाई पैसा दिएर होइन, तराई–मधेससहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट वञ्चित भएका, महिला हिंसाको सिकार भएकाहरुको अधिकारको लागि जागरण ल्याउन प्रयास गर्नेछु। म एउटा जिल्ला मात्र होइन देशको हरेक जिल्ला घुम्न चाहन्छु। त्यसको लागि स्थानीय सरकार, प्रदेश सरकारले उचित स्थान दिएको छ र म गर्छु।’
यसअघि नायिका रेखा थापालाई प्रदेश सरकारले उक्त अभियानको लागि शान्तिदूत घोषणा गर्ने चर्चा चलेपनि मुख्यमन्त्री राउतले भने नायिका थापाको आफ्नै अभियान रहेको र उनले सहयोग मात्र गर्ने स्पष्ट पारे।
रेखा थापा फाउण्डेसनले अहिले देशव्यापी रुपमा महिला हिंसाविरुद्धको कार्यक्रम सञ्चालन गर्दै आएका छ।