धर्वेन्द्र कुमार यादव
वटेश्वर, २८ गते
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले तराई मधेसको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न सकिए यहाँको कायापलट हुने बताएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा आज आयोजित ‘हाम्रो बटेश्वर, समृद्ध बटेश्वर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री यादवले तराई मधेशको उर्वर भुमिलाई सहि ढंगबाट सदुपयोग गर्नु पर्ने धारणा व्यक्त गर्दै उनले प्रदेश २ मा कृषि क्रान्ति चाडै सुरु हुने बताए ।
मन्त्री यादवले समृद्ध समाज निर्माणका लागि शिक्षा अतिआवश्यक भएकोले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान ल्याएको र यस अभियान मार्फत प्रदेश शिक्षामा उच्च फड्को मार्ने बताए ।
उनले यूवाहरुको यस्ता रचनात्मक कार्यले प्रदेश सरकारलाई हौसला मिल्ने बताउँदै शिक्षा बीना विकासको कल्पना गर्न नसकिने भएकोले दिर्घकालिन योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए ।
मन्त्री यादवले यूवाहरुले विकासको अठोट लिएर देशकै १ नम्बर प्रदेशको रुपमा यस प्रदेशलाई अगाडी बढाउन प्रदेश सरकार तत्पर रहेको बताए ।
कार्यक्रममा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतले आफ्नो गाउँपालिका भित्र अबको पाँच वर्ष भित्र ८० प्रतिशत खेतमा सिचाईको व्यवस्था तथा मल र बीउँ बीजनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले लामो समयसम्म जनप्रतिनिधि बिहिन रहेको अवस्थामा भौतिक पुर्वाधार विद्यालय, स्वास्थ्य चौकी लगायतका भवनहरुको जिर्णोद्धार गरेर पहिलेको अवस्थामा भन्दा अहिले गति ल्याएको दाबी गरे ।
उनले बटेश्वर गाउँपालिकामा प्रसूतिहरुलाई प्रसव पिडाको बेदनालाई मध्यनजर गर्दै १५ शैयाको अस्पताल तथा सर्पदंश उपचार केन्द्र यही पुस देखि सुचारु गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘नगरपालिकाको कामको विरोध गरेर मात्र हुँदैन, तपाईहरु समृद्धिको नारा मात्र बोकेर हुँदैन, आउनुस् समृद्धिका लागि तपाईको कार्यक्रम ल्याउनुस् हामी तपाईहरुलाई सहयोग र साथ दिन्छौं । खाली जनप्रतिनिधिको गुनासो गर्ने अनि गुनासोको सामाधान पनि नखोज्ने ! गुनासो गर्नुस समस्या पहिचान र त्यसको समाधान पनि खोजेर दिनुस् त्यसका लागि हामीलाई के गर्नुपर्छ त्यो हामी गछौं । तपाईहरुसंग बटेश्वरलाई समृद्ध बनाउने काममा के गर्नुपर्छ मिलेर गरौंला ।’
गापा अध्यक्ष राउतले यूवा परिवतर्नको सम्वाहक भएकोले यूवा पुस्ताको रक्तदान, रक्त परिक्षण, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु आफू निक्कै प्रभावित भएको भन्दै हातेमालो नेपालका सचिव तथा कार्यक्रमका संयोजक सरोज कुमार महतोलाई उनले धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा समेत यस्ता रचनात्मक कार्य गर्न÷गराउन आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता समेत जनाए ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले मधेश कृषिमा आधारित रहेका हुँदा बटेश्वर गाउँपालिकाको अधिकांस भु–भागहरु कृषि योग्य रहेकाले सिंचाई र समयमा बीउँ विजन तथा मल खाद्यको व्यवस्था मात्र गर्न सकिए बटेश्वरलाई समृद्धि तर्फ अघि बढ्न कसैले रोक्न नसक्नेमा बताए ।
हातेमालो नेपालका सचिव सरोज कुमार महतोको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा ९९ जना यूवा तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् । स्वतःस्फूर्त रुपमा रक्तदानमा सहभागी बटेश्वर गाउँपालिकाका यूवाहरुले रक्तदानबाट आफ्नो तथा अरुलाई जीवनदान दिने भएकोले रक्तदान गरेको बताए ।
बटेश्वर गाउँपालिकामा सम्भवतः पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांस यूवाहरुले आफूले पहिलो पटक रक्तदान गरेको बताए । उनीहरुले आयोजकले यस्तो सुवर्ण अवसर गाउँमै प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
सोही कार्यक्रममा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो । स्वास्थ्य परिक्षणबाट बटेश्वर गाउँपालिकाका झण्डै ३ सय बयोबृद्ध उमेर ढल्केका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रममा सहयोग गर्ने तथा रक्तदान गरेर योगदान दिएकाहरुलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो ।