सामाजिक र सांस्कृतिक एकताको एउटा प्रतीक पर्व हो, महापर्व छठ । तराई(मधेश संस्कृतिको प्रतिनिधित्व गर्ने छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय महत्वको भइसकेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमामात्र सीमित रहेको पाइँदैन ।

विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली(भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुङदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको पाइएको छ ।
तराईवासीको महान चाड छठ पर्व अन्तर्गत आज नहा खाय अर्थात नुहाएर चोखो भई खाने गरी मनाईदै छ ।
विशेष गरेर तराईवासीले कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।
छठ पर्वको पहिलोे दिन आइतबार व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता वस्तु परित्याग गरेका छन् ।
पञ्चमी तिथि दोस्रो दिनलाई ‘खरना’ संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आज आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।
जनकपुर सहित देशभरी आराध्यदेव सूर्यको आराधना गरी मनाइने मिथिलाञ्चलको मुख्य पर्व ‘छठ’ कार्तिक २५ गते आइतवार देखि विधिवत रुपले सुरु भई कार्तिक २८ गते बुधवार सम्पन्न हुँदैछ । सबै जातजाति, भाषाभाषी र धर्माबलम्बीको लागि साझा पर्वको रुपमा विकसित हुँदै गरेको मिथिलाञ्चलको प्रमुख चाड ‘छठ’ को रौनक प्राचिन मिथिलाको राजधानी जनकपुर सहित सम्पूर्ण मधेस सहित देश मै देखिने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोश्रो दिन खरना, तेश्रो दिन बेलुकी अस्ताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरेपछि छठपर्व सम्पन्न हुन्छ । छठ पर्वको अवसरमा नेपाल सरकारले कार्तिक २७ गते तराई जिल्लाहरुमा सार्वजनिक विदा समेत घोषणा गरेको छ भने प्रदेश २ सरकारले थप एक दिन कार्तिक २८ गते समेत सार्वजनिक विदा घोषणा गरेको छ ।
यो पर्व तराईमा निकै नियम निष्ठा तथा उल्लासपूर्वक मनाइन्छ । छठले दिने नैतिकताको सन्देश पनि आजको युगमा निकै आवश्यक र अनुकरणीय मान्न सकिन्छ । तराई क्षेत्रमा यो पर्व हिन्दुले मात्र होइन, गैरहिन्दुहरुले समेत मनाउने गरेका छन् । त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ। प्रत्येक वर्ष छठ मनाउने क्षेत्रहरुमा श्रद्धालुहरुको संख्या वृद्धि हुँदै गइरहेको छ।
करुणा, आस्था, त्याग, भक्ति, श्रद्धा समाधिकर्ताको यो पर्व सामुहिक पर्व हो । यो पर्वको महिमा नै सानो, ठूलो जाति, धर्मजस्तो संकुचित भावनालाई भुलेर सबै श्रद्धालुले छठ प्रसाद पाउन भन्ने हो । जसमा पुरोहित, पण्डित र पुजारी आदिको केहि स्थान हुँदैन ।
कार्तिक शुक्ल पक्षको षष्ठी व्रतलाई नै छठ व्रत मानिएको छ । यसलाई सूर्यषष्ठी व्रत पनि भनिन्छ । यो पर्व अति प्राचिन पर्व हो । कात्तिक महिनाको प्रारम्भसँगै तयारी गरिने यस पर्वको विषयमा विभिन्न कथा जोडिएको पाइन्छ। संस्कृतिविद् डा रामदयाल राकेशका अनुसार साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापस्वरुप कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ। त्यसैगरी श्रापबाट पीडित कवि मयुर भट्टले पनि सूर्यको उपासनाबाट स्वस्थ र सुन्दर शरीर पुनः प्राप्त गरेको कथासँग जोडिएर छठ पर्व प्रारम्भ भएको जनविश्वास पनि पाइन्छ। महाभारतकालमा द्रोपदी सहित पाण्डवहरु अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनि द्रोपदीले सूर्यको आराधना गरेकाले महाभारतकालदेखि नै छठ पर्वको सुरुवात भएको विश्वास रहेको पनि संस्कृतिविद् राकेश बताउँछन् ।
त्यस्तै अत्रि मुनिका पत्नी सती अनुसुइयाद्वारा सर्वप्रथम छठ पूजा गरिएको प्रसङ्ग सूर्य पुराणमा पाइन्छ। वर्तमान अवधारणाअनुसार यो व्रतलाई अत्यन्त कठिन व्रतको रुपमा लिइएको छ । पर्वको सिलसिलामा भइ रहेको पुजा एवं सोको तयारीको क्रममा कुनै वस्तु वा जुठो हाल्ने वा कुनै किसिमको व्यवधान जानीकन वा नजानीकन पनि भयो भने अनिष्ट हुने जनधारणा छ ।
यो पर्व षष्ठी र सप्तमी दुबै दिन मनाउने चलन छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ भने सप्तमीका दिन उदीयमान सूर्यको पूजा गरिन्छ । तर प्रधान पूजा उदयकालिन सूर्यको नै हुन्छ । षष्ठी गौण मानिएको छ । अस्ताउने सूर्यको पूजा गर्दा यसलाई छठीमाईको पूजा भनिन्छ । महिला एवं पुरुषहरु बेलुकी छठीमाईका आराधना गर्दा तनमनले एकाग्र भई श्रद्धापूर्वक पूजा अराधना गर्छन् र महिलाहरु छठीमाईको गीत गाउँछन् । भोजपुरी, मैथिली समाजमा के विश्वास छ भने छठीमाईको अराधनाबाट निःसन्तानले सन्तान पाउँछन् तथा रोगीले स्वास्थ्यलाभ प्राप्त गर्छन् ।
चार दिवसीय यस पर्वमा छठ व्रत गर्नेहरुले चौथीका दिन स्नान गरी अरुवा अन्न मात्र खान्छन् र पञ्चमी अर्थात भोलिपल्ट दिनभरी उपवास गरी साँझपख माटोको नयाँ चूलोमा, माटोको नयाँ भाँडोमा अरुवा चामलमा सख्खर हाली खीर पकाउँछन् र त्यसलाई जतिवटा मनौती अर्थात भाकल हुन्छ, त्यति ठाउँमा राखेर उत्सर्ग गरी आफू पनि खान्छन् र सो प्रसाद अरुलाई पनि बाँडिन्छ । यस कार्यलाई खरना भनिन्छ । षष्ठी तिथिमा व्रत गर्नेहरु साँझपख स्नान गरी नयाँ अथवा चोखो वस्त्र धारण गरी नदी वा पोखरी नजिक गई भाकल अनुसार माटोको कतारोमा अथवा सुपुली डगरी सानो नाङ्लो आदिमा अर्घ राखी भगवान्लाई चढाउँछन् । अर्घमा ठेकुवा, भुसवा (कसार),पेरकिया, केरा, फल, उखु, अदुवा, पानसुपारी, धुपदिप आदि राखिएको हुन्छ । छठपर्वमा चिनीको प्रयोग हुँदैन ।
सप्तमीको विहान सूर्यलाई अर्घ प्रदान गरिसकेपछि व्रत गर्नेहरु व्रत सम्बन्धी कथा सुन्छन् । गीत गाउँछन् र त्यसपछि प्रसाद ग्रहण गर्दछन् । यसलाई पारन अथवा परना भनिन्छ ।महिला र पुरुष कतिपय निष्ठासाथ षष्ठीको बेलुका र सप्तमीको विहान अर्घ दिने बेलामा पूजा हुने ठाउँमा जलमा उभिने भाकल पनि गरेका हुन्छन् । र पूजा प्रारम्भ हुँदा देखि अन्त्य हुँदा सम्म अर्घ दिने ठाउँ जलाशयमा उभिने गर्दछन् । वर्तमान समयका माँगअनुसार जातिको भेदभाव नराखी जोसुकैले पनि यो व्रत मनाउन थालेका छन् । पहिले छठ पर्व मधेसी समुदायले मात्र मनाउने गरे पनि केही वर्ष यता देखि सबै समुदायको साझा पर्वको रुपमा यो पर्व विकसित भइरहेको छ । पहाडी समुदाय लगायत मुश्लिम धर्माबलम्बीहरुले समेत यो पर्व मनाउन थालेको देखिन्छ । साथै यो पर्व मनाउन सबैजना एकै ठाउँमा एउटै नदी वा पोखरी को वरीपरी जम्मा भई मनाउने चलन रहेको हुँदा वर्षौ भेटघाट नहुने संग भेटघाट हुनु अर्को विशेषताको रुपमा लिन सकिन्छ ।
मधेसको साँस्कृतिक प्रतिविम्बका पहिचानका रुपमा रहेको छठ पर्व सूर्य षष्ठी व्रत हो । छठ दसैंजस्तै वर्षमा दुई पटक कात्तिक र चैत्रमा मनाइन्छ । दुबै महिनामा शुक्ल पक्षको षष्ठीमा हुने यो पर्व पारिवारिक सुख सम्बृद्धि र मनोकामनाको पूर्तिको लागि गरिन्छ । यद्यपी कात्तिक महिनामा मनाइने छठपर्वमा सर्वा्धिक मानिसहरुको सहभागिता रहन्छ ।
नेपाल भरी मै प्रसिद्ध जनकपुरको छठ पर्वको वर्णन जति गरेपनि कम हुन्छ । छठ पर्वको अवसरमा जनकपुरलाई बेहुली झैं सिंगारिएको छ । पोखरीहरुको शहर भनेर चिनिने जनकपुर छठपर्वको अवसरमा यहाँ स्थित गंगासागर, धनुष सागर, अरगजा सागर, गोरधोइ सागर लगायत सबै पोखरी र सरोवरहरु सफा पारि विभिन्न किसिमको सजाउने पाल र टेन्टले सजाइएको छ । अहिले पुरा जनकपुर छठपर्वको उल्लासमय वातावरणमा डुबेको देखिन्छ । यतिखेर प्राचिन मिथिलाको राजधानी जनकपुर आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सिंगारिएको जनकपुर हेरेर औधी प्रभावित हुने गरेका छन् ।
तराईका सबै जातजातिले साझारुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्यउपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्वहो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरू पनि पाइन्छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्यबाट ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको देखिन्छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको उल्लेख पाइन्छ । जीवनदायी शक्ति सूर्यदेवता र छठीमाताको आराधना गरिने यस पर्वप्रति सबैको समान श्रद्धा देखिन्छ । त्यसैले पनि छठपर्वलाई करुणा, आस्था, त्याग, भक्ति, श्रद्धा समाधिकर्ताको सामूहिक पर्व भनिन्छ । छठको महिमा नै सानो–ठूलो, जाति धर्मजस्तो संकुुचित भावनालाई भुलेर सबैले श्रद्धाले छठको प्रसाद पाऊन् भन्ने हो । छठमा बेहुली झँै सिँगारिएका तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि हेर्ने लायकको हुन्छ ।
यतिखेर पुरा जनकपुर छठपर्वको उल्लासमय वातावरणमा डुबेको देखिन्छ । यतिखेर प्राचिन मिथिलाको राजधानी जनकपुर आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सिंगारिएको जनकपुर हेरेर औधी प्रभावित हुने गर्दछन् ।
त्यसैगरी धनुषाको दोश्रो शहर क्षीरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरको औरही, दूधमती, जलाद नदी लगायतका ताल र पोखरीहरुमा भव्य रुपमा छठ पर्व मनाईन्छ । तराईका सबै जातजातिले साझारुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्यउपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्वहो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
अहिले राजधानीमा पनि भव्यतापूर्वक छठ मनाउन थालिएको छ । मनाउनेमात्र होइन, पर्वलाई सर्वसंस्कृति स्वीकृति पनि प्राप्त हुने गरेको छ, जो सुखद छ । यसले नयाँखाले नेपाली सांस्कृतिक एकता निर्माणको सेतुको रुप धारण गर्न खोजेको छ