शिरीष सम्बाददाता
महेन्द्रनगर २३ गते कार्तिक
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन अाज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकाे नेपाल पञ्चांग निर्णायक समितिले जनाएकाे छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको पञ्चांग समितिले जनाएकाे छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
त्यसैगरी मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै
आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् ।
आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् ।
उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् । दिदीबहिनीले “बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा” अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो पर्व मनाएका छन् ।
बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् । मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ ।