अजय शाह , जनकपुर ६ गते ।
जनकपुरधाम । राष्ट्रिय एकता भए मात्र मधेसको विकास तिब्र गतिमा अघि बढ्ने पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
नेकपा पार्टी प्रदेश २ द्वारा जनकपुरमा आज आयोजना गरिएको साँस्कृतिक पर्व विजया दशमी, दिपावली, छठ तथा ईदको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताउँदै उहाँले भन्नुभयो, ‘काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन ।’
प्रचण्डले विखण्डनले मधेसको माग कहिल्यै पूरा नहुने बताउँदै विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पूरा हुँदैन ।’
अध्यक्ष दाहालले काठमाडौं निर्माण पहाडका मान्छेले मात्रै गरेका होइन्न्। मधेसी जनताको रगत पसिना मिसिएर काठमाडौं बनेको बताउँदै भन्नुभयो, ‘यदि काठमाडौंबाट अल्लगिएर कसैले मधेस बनाउने भन्छ भने त्यो मधेसी जनताको अपमान र धोका हुनेछ।’
राष्ट्रिय एकताले मात्रै मधेसी जनताको अधिकार, सम्मान र विकास सम्भव हुन सक्ने दाहालको भनाइ थियो। उहाँले विखण्डनकारी आवाजले मधेसी र जनताको अधिकारलाई ध्वस्त बनाउने काम फटहा र डाँकाको रहेको बताउनुभयो ।
प्रचण्डले मधेसी जनताको हितमा संविधान संशोधन गर्न आफ्नो पार्टी तथा सरकार तयार रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नेकपा अध्यक्ष केपी ओली, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा मेरो बीचमा संविधान संशोधन गर्ने लिखित समझौता भएकै हो । उचित समयमा संविधान निश्चित रुपमा संशोधन हुन्छ ।’
प्रचण्डले प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ताउन खोज्नु उचित नभएको बताउँदै उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति हामी गम्भीर छौं ।’
प्रचण्डले संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने भनेर सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयपछि त्यस अन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ, मौलिक अधिकार सम्बन्धी जरुरी ऐन पारित गर्नु परेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा उछिनपाछिन गरी ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ।’
कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राख्नु भएको थियो । मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्तिको क्रममा भन्नुभयो, ‘आजको यस कार्यक्रम मार्फत संघीय सरकारको नारा अनुरुप समृद्ध नेपाली र सुखी नेपालको सपना पूर्ति होस् भन्ने शुभकामना दिन चाहन्छु तर, मात्र शुभकामना दिएर सुख र समृद्ध हुन सक्दैन् यसलाई व्यवहारमा कार्यान्वयन गरिनु आवश्यक छ।’
उहाँले संविधानको धारामा टेकेर प्रदेश २ को सरकारले प्रदेश प्रहरी ऐन ल्याएको हुनाले यसलाई सहयोग गर्नका निमित्त संघीय सरकारले सक्दो चाँडो संघीय प्रहरी ऐन ल्याओस् भन्ने चाहना रहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले भन्नुभयो, ‘संविधान प्रदत अधिकार प्राप्त गर्नका लागि प्रदेश सरकारले छिटै लोकसेवा ऐन, निजामति सेवा ऐन समेत ल्याउने तयारीमा रहेको छ, त्यसैले संघीय सरकारले पनि ऐनहरु ल्याउन विलम्ब नगरोस् भन्ने अनुरोध छ।’
मुख्यमन्त्री राउतले नेकपा अध्यक्ष दाहाल समक्ष प्रश्न गर्नुभयो, ‘प्रदेश २ मा ५ हजार कर्मचारीको आवश्यकता छ। मात्र अढाई सय कर्मचारी पठाउँदा विकास र समृद्धि कसरी सफल हुन सक्छ?, यदि संघीय सरकारले हाम्रो आवश्यकता बमोजिम कर्मचारी परिपूर्ति गरेन् भने हामी करारमा भर्ना प्रकृया सुरु गर्छौं।’
मुख्यमन्त्री राउतले सिंह दरबार गाउँगाउँमा पुगेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘सिंहदरबार त गाउँमा आयो तर सिंहहरु अहिलेसम्म दरबारको पर्खालभन्दा बाहिर आउन सकेका छैनन् यस्तो अवस्थामा विकास र समृद्धिको नारा सफल हुन गाह्रो छ।’
मुख्यमन्त्री राउतको अभिव्यक्ति र गुनासाको जवाफमा नेकपा अध्यक्ष दाहालले भन्नुभयो, ‘प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनको अहिले राष्ट्रिय रुपमा नै निकै चर्चा छ। संविधानमा समेत संघीय सरकारले संघीय प्रहरी ऐन ल्याए पश्चात प्रदेशहरुले आफ्नो अनुकुलता अनुसार प्रदेश प्रहरी ऐन ल्याउन सकिने व्यवस्था गरिएको छ। तर, संघीय प्रहरी ऐन ल्याउन केही ढिलाई हुँदैमा त्यसलाई ओभरटेक गरेर प्रदेश प्रहरी ऐन ल्याउनु उचित होइन।
कर्मचारीहरुको अभावका विषयमा मुख्यमन्त्री राउतको गुनासो जायज रहेको भन्दै दाहालले कर्मचारी प्रदेश २ लाई मात्र नभई सातै प्रदेशलाई अपुग रहेको बताउनुभयो । उहाँले भरखर देशले संघियताको अभ्यास गर्न थालेको केहि ढिलो भए सबै सहज हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश सरकारले संघीय सरकार तर्फ फर्केर हात देखाउँदै गाली गरेमा आफ्नो कर्तव्य पूरा भएको ठान्नु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले एकअर्कामाथि दोषारोपन गरेर वा गाली गरेर केही हासिल नहुने बताउनुभयो ।
पौडेलले मुख्यमन्त्री राउतलाई इंगित गर्दै भन्नुभयो, ‘प्रदेश २ को सरकारलाई हाम्रो अनुरोध छ, विकास र समृद्धिका योजना संघीय सरकारसमक्ष ल्याउनुस् त्यसलाई परिपूर्ति गराउन सरकार र हाम्रो पार्टीले प्रतिबद्धताका साथ सहयोग गर्नेछ।’
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा सम्पन्न चियापान समारोहलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार, निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत ,प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।