दक्षिण एसियाका मुलुकमा ‘जेन्डर ट्रेनर’को रूपमा ख्याति कमाएकी कमला भसिनको जन्म २४ अप्रिल १९४६ मा हालको पाकिस्तानको मन्दिबाहुद्दिन जिल्लामा भएको हो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार भारत आएसँगै भसिनको मूल कार्यथलो भारत बन्न गयो । उनी झन्डै चार दशकदेखि लैंगिक समानता, गरिबी निवारण र मानवअधिकारको क्षेत्रमा आवाज उठाइरहेकी नारीवादी सामाजिक अभियन्ता हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनसँग आबद्ध भएर सन् १९७६ मा राजस्थान पुगेकी उनी त्यहीँबाट आफूले समाजका वास्तविक समस्या बुझ्न थालेको बताउँछिन् । राजस्थान उनका लागि गरिबी, महिलाहरूको अवस्था तथा सामाजिक तानाबाना बुझ्ने र जीवनको गोरेटो फेर्ने ठाउँ बन्यो । महिला अधिकारका क्षेत्रमा काम गर्ने ‘संगत’ संगठनकी संस्थापक रहेकी उनी त्यसैमार्फत सामाजिक मुद्दामा क्रियाशील छिन् । उनका ‘लाफिङ म्याटर्स’, ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’, ‘बोर्डस एन्ड बाउन्ड्रिज : वुमन इन इन्डियाज् पार्टिसन’ र ‘ह्वाट इज पेट्रियार्क’का साथै चर्चित कवितासंग्रह ‘क्युँ कि मैं लडकी हुँ मुझे पढ्ना हैं’ प्रकाशित छन् । केहीअघि काठमाडौं आउ“दा भसिनसँग नरेश ज्ञवालीले गरेको अन्तर्वार्ता :
सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा महिला हुनुको वास्तविक अर्थ के हो ?
जुनसुकै अर्थमा पनि पितृसत्ता खेल्ने गर्छ, भलै त्यो आर्थिक, सामाजिक, सांस्कृतिक नै किन नहोस् । पितृसत्ताका कारण महिलाको वास्तविक अर्थ पुरुषभन्दा तल हो । हिन्दूशास्त्रहरूमा भगवान्ले पुरुषलाई सर्वश्रेष्ठ बनाएका हुन् र क्रिस्चियनमा एडम पहिला जन्मे र उनैको करङबाट महिला निस्केका हुन् भनिन्छ भने हामी कस्तो खाले ‘वैज्ञानिक अवधारणा’लाई पछ्याइरहेका छौँ । पितृसत्तामा पुरुषलाई धेरै अधिकार दिइन्छ जस्तै– सम्पत्तिको अधिकार, निर्णयको अधिकार, मानसिकता निर्माणको अधिकार, जसबाट उनीहरू विचारधाराको निर्माण गर्न सक्छन् । त्यसैका आधारमा धर्ममा के ठीक र के बेठीक भन्ने कुराको निर्धारण उनीहरू नै गर्छन् ।
समयसँगै यसमा परिवर्तन पनि देखा पर्न थालेको छ । हिजोआज धेरै महिला घरबाहिरको काम गर्न थालेका छन् । नेपालकी एउटी छोरी विद्या भण्डारी राष्ट्रपति बनेकी छिन् । अर्की सपना मल्ल प्रधान सर्वोच्च अदालतको न्यायाधीश बनेकी छिन् । बिन्दा पाण्डे जस्ता धेरै महिलाहरू आफ्नो अधिकारको पक्षमा बोल्न थालेका छन् । तर, समाजमा रहेको पितृसत्ता उनीहरू जहाँ पुगे पनि उनीहरूको औकात स्मरण गराइरहन चाहन्छ । त्यसैले वर्षमा पाँच–सातपटक पूजाआजा, व्रत गरिराख, यो धर्म हो, हाम्रो संस्कृति हो भन्छ । त्यसैले ऋषि पञ्चमीमा उसलाई शुद्ध गराउन हरेक अंग धुन लगाइन्छ । भन्नुको अर्थ महिलाले आफ्नो वास्तविक औकात भुल्नु हुँदैन भन्ने समाजको पितृसत्तात्मक सोच रहेको हुन्छ । जसरी तिमीलाई तिम्रो सम्पादकले औकातमा रहन सिकाइरहेको हुन्छ । महिलालाई दिइने आशीर्वाद, विधवा हुँदा, राजस्वला हुँदा गरिने व्यवहार आदि कैयौँ सामाजिक मान्यता जसले महिला हुनुको अर्थ के हो भनेर उसलाई पटक–पटक स्मरण गराइरहेका हुन्छन् ।
आधुनिक महिलाको वर्तमान अवस्थामा पछिल्ला केही दशक कस्ता परिवर्तन देखिएका छन्, जसले उनीहरूलाई पहिलेभन्दा भिन्न देखाउँछ ?
मूलतः दुइटा परिवर्तन भएका छन् । पहिलो, हामी प्रगतितर्फ धेरैभन्दा धेरै अघि बढेका छौँ । प्रगतिको मूल कारण हाम्रो संविधान हो, जसले महिला र पुरुष समान हैसियतका हुन् भन्यो । संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र, जसले सबै मान्छे आ–आफ्नो सम्मान र अधिकारका साथ समान र स्वतन्त्र छन् भन्यो । त्यसैगरी महिलाहरू शिक्षाको क्षेत्रमा हस्तक्षेपकारी ढंगले अघि बढे । हिजोआज विद्यालय र विश्वविद्यालयमा उत्कृष्ट अंक ल्याउनेमा महिला धेरै छन् । उनीहरूले प्रत्येक क्षेत्रमा प्रगति गरेका छन् । दोस्रो, यसका साथसाथै ठूलो धक्का पनि लागेको छ ।
यतिवेला पुँजीवाद र पितृसत्ता एकअर्कामा गाभिन पुगेका छन् । यी दुवैले एकअर्कालाई जोगाउन सहकार्य गरिरहेका छन् । पुँजीवाद र पितृसत्ताले के बुझिसकेका छन् भने पुँजीवादलाई पितृसत्ताले बलियो बनाउन सक्छ र पितृसत्तालाई पुँजीवादले बलियो बनाउन सक्छ । त्यसैको प्रभाव हो कि हिजोआज कुलीन महिलाहरू तिजको कार्यक्रम पाँचतारे होटेलमा गर्न रुचाउँछन् । ‘प्रोनोग्राफी’, महिला बेचबिखन, सौन्दर्य प्रसाधन आज अर्ब डलरको व्यापार हो । यी कुरा आजभन्दा तीन दशकअघिसम्म थिएनन् । यसले महिलालाई मानिसको रूपमा होइन कि वस्तुको रूपमा हेर्छ र त्यसका उपभोक्ता निर्माण गर्छ ।
भारतले खुला अर्थतन्त्रको नीति अँगालेसँगै चार भारतीय महिला एक्कासि ‘मिस वल्र्ड’ र ‘मिस युनिभर्स’ भए । जबकि त्यसअघिसम्म भारतीय महिलाले त्यो सफलता पाएका थिएनन् । भन्नुको अर्थ, यी सबै आर्थिक निर्णय थिए, जुन व्यापारसँग गासिन्छन् । यसको वास्तविक सुन्दरतासँग कुनै नाता–सम्बन्ध नै थिएन । मलाई अझै पनि सम्झना छ, जतिवेला सुस्मिता सेन सुन्दरी प्रतियोगिता जितेर आइन्, उनलाई राष्ट्रपतिको बग्गीमा राजपथमा डुलाइयो ।
उनलाई राष्ट्रपतिको बग्गीमा डुलाउनुको कारण उनको छाती, नितम्ब ठूला र आकर्षक थिए, कम्मर छिनेको छ, यिनी राम्री हुन् भनेर कसैले भनिदिएको थियो । योभन्दाबाहेक उनमा के थियो र ? अरुणा राय जसले सूचनाको अधिकारसम्बन्धी ऐन ल्याइन्, उनी ‘ब्युटी क्विन’ होइनन् ? वन्दना शिवा, गायत्री स्पिभाक र कमला भसिन पनि ‘ब्युटी क्विन’ होइनन् ? सुस्मितालाई सम्मान गरेसँगै राज्यले सौन्दर्य प्रसाधन कम्पनीहरूलाई सहयोग ग-यो । किनभने सुन्दरी प्रतियोगिता गर्ने त तिनै सौन्दर्य प्रसाधन कम्पनी हुन् ।
यसैमा अर्को एउटा पक्ष जोडिन्छ, सञ्चार माध्यम । आज पनि सञ्चार माध्यमको १० प्रतिशत सामग्री महिलाका पक्षमा हुन्छन् । निर्मला पन्तको समाचार पहिलो पृष्ठमा प्रकाशित गरिन्छ, तर विज्ञापन त्यसविरुद्धको प्रकाशित हुन्छ । पछिल्लो समयमा सिनेमा उद्योग जसरी अघि बढेको छ, त्यसमा जम्मा २–३ प्रतिशत राम्रा सिनेमा निर्माण हुन्छन्, नभए अरू त ‘मैं तो तन्दुरी मुर्गी हुँ’, ‘लौंन्डिया पटाएगें मिस कल से’, ‘सिला की जवानी’, ‘मुन्नी बदनाम हुई’ जस्ता लाजमर्दा कुरा सिनेमाले बेचिरहेका हुन्छन् । यिनले पुरुषलाई बलशाली र महिलालाई वस्तुका रूपमा प्रयोग गर्न सिकाउँछन् ।
‘बक्तमिज दिल बक्तमिज दिल माने ना माने ना’ भनेर नराम्रो कुरालाई महिमामण्डन गरिएको छ । प्रहरी कार्यालयमा रक्सीको बोतल लिएर नाच्ने प्रहरीलाई महिमामण्डन गरिएको हुन्छ । हालै एउटा रिपोर्ट आएको छ, इंग्ल्यान्डको फुटबल टिम हारेको दिन खेलाडीहरूले आफ्ना पत्नीलाई कुट्ने गर्छन् । मानिलिनुस् त्यो रिस अन्यत्र देखाउनै हुँदैन र पत्नीलाई कुट्ने उनीहरूलाई अधिकार प्राप्त छ ।
यस्ता प्रकारका हिंसाका रूपहरू हाम्रो समाज र विश्वमा देखापरेका छन् जुन केही दशक अघिसम्म थिएनन् । यसमा लाजमर्दो कुरा त के छ भने समाजमा यस्ता कुरा भइरहेका छन् र यसविरुद्ध कुनै पनि पुरुषले बोलेको मैले सुनेकी छैन । के पुरुषहरूले यस्ता गीतले पुरुषकै बेइज्जती ग¥यो भनेर भन्न सक्दैनन् ? गीत के भन्छ भने– ‘मैं तो तन्दुरी मुर्गी हुँ यार गटकाले सैंया अल्कोहल से’ भनेपछि त्यो पुरुष कति क्रूर व्यक्ति होला कि उसले महिलालाई खाने गर्छ र ‘अल्कोहल’ले त्यसलाई निल्छ । ‘लौंन्डिया पटाएगें मिस कल से’ भन्नुको अर्थ जुन महिलासँग उसले प्रेमको नाटक गरिरहेको छ, त्यो उसका लागि प्रेमिका होइन ‘लौंन्डिया’ हो अर्थात् वेश्या ।
यसमा कुनै पुरुषले बोल्नु पर्दैन कि यो पुरुषहरूको आम चरित्रभन्दा घिनलाग्दो भयो । यस्ता गीतका कारण महिलाहरू डराउने गर्छन् र विश्वास नै गर्दैनन् । जबकि हामी त्यति डरलाग्दा र अविश्वासिला छैनौँ । त्यसैले पितृसत्ताले हामी सबैलाई अमानवीय बनाउँदै लगेको छ । यही कारण हो कि कुनै पुरुषमा महिलाले साथी, प्रेमी अथवा विश्वासयोग्य मानिस होइन कि दुस्मन र सिकारी देख्छे । मलाई के लाग्छ भने हामी कुनै कोणमा अघि बढ्दै छौँ भने कुनै कोणमा पछि सर्दै छौँ । त्यसैले जबसम्म यो आर्थिक व्यवस्थालाई हामीले मेट्न सक्दैनौँ, तबसम्म न त महिला–पुरुषमा, न त दलित–ब्राह्मणमा, न त धनी–गरिबमा समानता आउन सक्छ । यसप्रकारको साम्राज्यवादी पुँजीवादले हरेक प्रकारको असमानतालाई बढाएको छ ।
महिलामाथि हुने हिंसाको मूल कारक उनीहरूको आर्थिक अवस्थामा निहित रहेको बताइन्छ । आर्थिक अवस्था वास्तवमै त्यति नै महत्वपूर्ण कारक हो अथवा हिंसाका पछाडि अन्य आयाम पनि जोडिन्छन् ?
अर्थतन्त्रमा महिलाको पहुँच हुनु महत्वपूर्ण हो । पैतृक सम्पत्तिमा महिलाको अधिकार कायम गरिनुपर्छ । प्रोफेसर डिना अग्रवालले केरलामा अनुसन्धान गर्दा के पत्ता लाग्यो भने जुन महिलासँग अलिकति पनि सम्पत्ति छ, उनीहरूमध्ये ६ प्रतिशतमाथि हिंसा भइरहेको छ तर जोसँग अलिकति पनि सम्पत्ति छैन, उनीहरूमध्ये ४७ प्रतिशतमाथि हिंसा भइरहेको छ । त्यसैले हामीले २ वर्षअघि ‘वन विलियन राइजिङ’सँग जोडेर‘सम्पत्ति महिलाको पनि’भन्ने नारा बनायौँ । हिजोआज मलाई के लाग्न थालेको छ भने हामीले हाम्रो अधिकारको कुरा गरेर मात्र हुँदो रहेनछ किनभने अधिकार त हामीसँग पहिलेदेखि नै छ, तर व्यवहारमा त्यो छैन, जुन हुनुपर्ने हो ।
अधिकारको कुरा गर्ने हो भने त हामीमाथि बलात्कार नहुनुपर्ने हो । त्यसैले हामीले यो अभियानलाई सांस्कृतिक परिवर्तनसँग जोडेका छौँ । पितृसत्तात्मक सोच आज आफैँमा एउटा प्रणाली बनिसकेको छ । कार्लमाक्र्सले के सोचेका थिए भने यदि निजी सम्पत्तिको अन्त्य गरिदिने हो भने पितृसत्ता गल्र्यामगुर्लुम ढल्छ । त्यसैले उनले अर्थतन्त्र संरचना हो र सोच अधिरचना हो भनेका थिए । तर, रुसमा त्यस्तो भएन, सम्पत्तिको राष्ट्रियकरण गरियो ।
मूल संरचना ढालियो तर त्यससँग जोडिएको पितृसत्तात्मक अधिरचना ढलेन । क्रान्तिपछि पनि महिलाहरू घरमा भात पकाएर बस्न बाध्य भए । त्यसैले मलाई के लाग्छ भने सम्पत्तिका साथसाथै सोचलाई धर्मले बल पु¥याइरहेको छ । यस्ता कैयौँ कुरा सांस्कृतिक मूल्य–मान्यतासँग जबर्जस्त गाँसिएका छन् । पहिले सबैजसो चाडबाड प्रकृतिसँग जोडेर बनाइएका थिए, तर आज तिनलाई संस्कृतिको जामा भिराएर धार्मिक बनाइएको छ । जतिवेलासम्म हामीले सांस्कृतिक मान्यतालाई पुनः परिभाषित गर्दैनौँ, त्यससँग जतिवेलासम्म लड्दैनौँ, हामी एउटा खुट्टामा मात्र हिँडेर कहीँ पुग्न सक्दैनौँ । मलाई लाग्छ, महिलाहरू अर्थतन्त्रमा मात्रै बलियो भएर केही फरक पर्दैन । आर्थिक हैसियत फेरिने तर सोच पुरानै रहने हो भने पहिले चौतारोमा ऋषि पञ्चमी मनाउने महिला पाँचतारे होटेलमा ऋषि पञ्चमी मनाउन पुग्छे ।
ऐतिहासिक मिथहरूलाई पस्केर पटक–पटक के भनिन्छ भने हरेक युद्धका पछाडि महिलाको हात हुन्छ । तपाईंलाई के लाग्छ, वास्तवमै युद्धका पछाडि महिलाहरूको हात हुने गर्छ अथवा सत्ता हत्याउन, विद्यमान सत्तालाई निरन्तरता दिन अथवा आफूलाई चोखो देखाउन यस्तो खाले ‘शासकीय भाष्य’को निर्माण गरिएको हो ?
ती कुन युद्ध थिए, जुन महिलाहरूका लागि लडियो ? बुसले अफगानिस्तान र इराकमा जुन हमला गरे, त्यो महिलाका लागि थियो ? सिरियामा भइरहेको युद्ध महिलाका लागि हो र ? अमेरिकाका स्कुलमा कुनै महिलाले गोली चलाएर यति जना मारे भनेर सुन्नुभएको छ ? यदि तपाईंको हिन्दू मस्तिष्कमा कुरुक्षेत्रको युद्ध सम्झना भइरहेछ भने अर्कै कुरा हो । के ती युद्ध थिए ? त्यसको इतिहास थाहा छ ? ती मिथक/कथा हुन् । मेरो दृष्टिकोणमा महाभारत एउटा कथा हो ।
त्यसैले महिलाका कारण युद्ध हुन्छ भन्नु आफैँमा बकबास हो । मैले थाहा पाएसम्म महिलाहरूले युद्ध नहोस् भनेर प्रयास गरेका छन् । अकबरलाई कुनै महिलाले रक्षाबन्धन बाँधेर अबदेखि युद्ध नगर्नू भनेको हो । तपाईंले भनेका सबै युद्ध साधन–स्रोतका लागि गरिन्छ । इतिहास पल्टाएर हेरे हुन्छ, युद्ध गर्ने सबै पागलहरूले आफ्नो सत्ता टिकाउन र साधन–स्रोतको दोहन गर्न युद्ध गर्छन् । धर्मलाई त्यसमा प्रयोग गर्ने गरिन्छ । जर्ज बुसको युद्ध मुस्लिमविरुद्ध भन्नका लागि हो । वास्तवमा बुसको युद्ध पेट्रोलियम र ग्यासका लागि हो । त्यसैले युद्धको मूल कारण स्रोत–साधन हो ।
स्रोत–साधनमा कब्जा जमाएपछि शक्ति आफैँ आउँछ । शक्तिमा टिसकराख्न दुइटा कुरा महत्वपूर्ण हुन जान्छ– साधन–स्रोतमाथि कब्जा र विचारधारामा नियन्त्रण । एउटा पुरुषले केही नकमाओस् तर उसमा म पुरुष हुँ भन्ने अहंकार हुन्छ किनभने ऊ पितृसत्तात्मक विचारधाराबाट दीक्षित हुन्छ । एउटा बाहुन जति नै गरिब होस् सार्कीले छोएको खाँदिन भन्छ । यी दुवै शक्ति एक–आपसमा जोडिएर महिलामाथि दमन गर्छन् । त्यसैले हामी दुवै खुट्टामा हिँड्नुपर्ने हुन्छ । पहिलो सांस्कृतिक मूल्य–मान्यतालाई फेर्नु र अर्थतन्त्रको हिसाबले सबल हुनु ।
दक्षिण एसियाको सन्दर्भमा महिलाको अवस्था विशिष्ट प्रकृतिको छ, त्यसमा पनि दलित महिलाको अवस्था झनै विशिष्ट प्रकृतिको छ । विद्यमान विभेदजन्य समस्याको समाधानमा हामीले के गर्नुपर्ने देख्नुहुन्छ ?
दक्षिण एसियाको समाज अफ्रिकी समाजभन्दा पनि निम्नस्तरको छ । भारतमा सबा ६ करोड महिला पछिल्लो ५० वर्षमा कुनै न कुनै कारणले मारिएका छन् । यस्तो अवस्था सबैतिर छ । नेपाल पनि यस्ता कुरीतिको गढ हो । आजको युगमा पनि छाउपडी, गुफा, ऋषि पञ्चमी यो भद्दा र निकृष्ट लाग्दैन ? महिला अशुद्ध भएर उसको शुद्धताका लागि गरेको रे । त्यसो भए एउटा मात्रै मान्छे देखाइदिनुस्, जो अशुद्ध रगत नलागी जन्मेको होस् । क्रिस्चियनहरूको पोप पनि कहाँबाट जन्मेको हो ? रुखबाट जन्मेको हो र ? सबै यही ‘अपवित्र’ रगतबाट जन्मेका हुन् अनि आफू शुद्ध महिला अशुद्ध ? अशुद्ध रगतबाट छोरा जन्मिए शुद्ध, छोरी जन्मिए अशुद्ध पनि हुन्छ ?
त्यसैले मैले यसलाई खुनहरामी भन्ने गरेकी छु । एउटा नमकहरामी हुन्छ, अर्को खुनहरामी । बितेको ४२ वर्षसम्म मैले नेपालमा एउटी पनि त्यस्ती महिला भेटेकी छैन, जसले मैले बार्नु परेन भनेकी होस् । कम्युनिस्ट पार्टीका ठूला–ठूला नेता बनेर हिँडेका छन्, तर यो गलत हो भनेर तिनले आफ्नो परिवारमा पनि यो कुरीतिलाई किन हटाउन नसकेका ? मलाई लाग्छ, दक्षिण एसियामा जात प्रणाली र पितृसत्ता गाँसिएका छन् । अमेरिकामा नश्ल र पितृसत्ता गाँसिएका छन् । समग्र विश्वमा वर्ग र पितृसत्ता गाँसिएको छ । त्यसैले दक्षिण एसियामा सबैको बिहे आफ्नै जातमा हुन्छ ।
वैश्विक रूपमा जसरी अनुदारवादी राजनीति फस्टाउँदै गइरहेको छ, त्यस परिप्रेक्षमा तपाईंहरूजस्ता सामाजिक मुद्दा उठाउनेहरूमाथि त्यसको कत्तिको असर परेको छ ?
यो हामीमाथिको सोझो हमला हो । डोनाल्ड ट्रम्पजस्तो व्यक्ति अमेरिकामा राष्ट्रपति चुनिनु सोझै महिलामाथि हमला हो । ट्रम्प आएसँगै के भन्छन् भने परिवार नियोजन र गर्भपतन गर्न पाइनेछैन । जहाँ–जहाँ दक्षिणपन्थको राजनीति फस्टाउँदै छ, जहाँ–जहाँ फासीवाद आइरहेको छ, त्यो सोझै हामीमाथिको हमला हो र त्यही दक्षिणपन्थलाई रोक्नुपर्ने अहिलेको आवश्यकता हो ।
पुँजीवादी नारीवाद र माक्र्सवादी नारीवादबीच के अन्तर पाउनुहुन्छ ?
बिल्कुल सही प्रश्न सोध्नुभयो, नारीवाद एउटा मात्रै छैन । जसरी माक्र्सवाद एउटै छैन । हिन्दू, इस्लाम र इसाई एउटै छैनन् । यसको अर्थ हो कि सबै नारी पनि एक छैनन् । एकातर्फ मजस्तै उच्च जात, उच्च वर्गकी हिन्दू नारी छ, अर्कोतर्फ आदिवासी, गरिब, अनपढ नारी छ, उसमा र ममा के समानता छ ? हाम्रो शरीर मात्रै मिल्छ । हुन सक्छ ऊ मेरो घरमा काम गर्ने महिला हो । त्यहाँ दिदी–बहिनीको सम्बन्ध कहाँ छ ? भन्नुको अर्थ हामी सबै भिन्नाभिन्नै स्थितिका हौँ र हामी सबै विभाजित छौँ । अर्को हाम्रो वैचारिक स्थिति पनि भिन्न–भिन्न छ । केही महिला स्त्री–पुरुष समानताको कुरा गर्नेबित्तिकै स्त्री–पुरुष मात्रैको समानताको कुरा गर्छन् ।
अमेरिकामा नश्लीय विभेद छ, एउटी अश्वेत महिला अश्वेत भएकै कारणले हेपिएकी छ, एउटी भारतकी दलित महिला अथवा आदिवासी महिला दलित र आदिवासी भएकै कारण हेपिएकी छ भने त्यो मेरो मुद्दा होइन भन्ने नारिवादी पनि छन् । अनि कुनै अश्वेत, दलित अथवा आदिवासी महिलाले पहिले मेरो र तिम्रो बीचको यो असमानता त हटाऊ, जुन मभन्दा भिन्न भएका कारणले तिमीले ममाथि शासन गरेकी छौ अनि महिलाको मुद्दामा फेरि हामीसँगै होउला भनी भने कोही नबोल्ने छन्, कोही यसमा बोल्ने छन् । म यी दुवै समस्यालाई सँगै लिएर अघि बढ्नुपर्छ भन्ने ठान्छु । म के ठान्छु भने दक्षिण एसियामा जति पनि नारिवादी छौँ, हामी सबैजसो कम्तीमा सबैले सबै मुद्दा लिएर अघि बढेका छौँ । बितेका १० वर्षयता हामीले दलितको कुरा गरिरहेका छौँ । अब हामी शारीरिक रूपले सांग नभएकाहरूको पनि कुरा गरिरहेका छौँ र उनीहरूका लागि लडिरहेका छौँ ।
तपाईं पहिले ‘हार्ड लाइनर फेमिनिस्ट’ भनेर चिनिनुहुन्थ्यो । पछिल्ला केही वर्षमा तपाईं ‘नरम’ हुँदै जानुभयो भन्ने गरिन्छ । तपाईंमा यो परिवर्तन कसरी आयो ?
म ‘हार्ड लाइनर’ थिएँ भनेर मलाई कहिल्यै थाहा छैन । सन् १९७० मा म जर्मनीमा पढेर आएँ । त्यसपछि म विकास र गरिबीको क्षेत्रमा काम गर्न राजस्थान पुगेँ । मैले पहिले सहभागिता जनाएको संस्था महिला संस्था होइन । राजस्थानको उदयपुरमा मैले दलित र आदिवासी समुदायसँग काम गरेपछि बल्ल थाहा पाएँ, हाम्रो समाजमा गरिबीको के अर्थ छ र जात व्यवस्थाले तिनलाई कसरी थिचेर राखेको छ । जुन कुरा मैले त्यहाँ सिक्दै थिएँ, त्यो मैले न त जर्मन विश्वविद्यालयमा पढेकी थिएँ, न राजस्थान विश्वविद्यालयमा । आजसम्म मैले जे कुरा सिकेकी छु त्यो गरिब आदिवासी दलितहरूसँग सिकेकी हुँ । पितृसत्ता भन्ने सुनेकी थिएँ, त्यहाँ गएपछि बल्ल महसुस भयो, यो कति खतरनाक हुन्छ । हो, सानैदेखि अलिक नारिवादी थिएँ होला ।
तर त्यो कुनै वैचारिक स्तरमा थिएन । जीवन भोगाईले मलाई नारीवादी बनायो । बिस्तारै–बिस्तारै म नारीवादी बनेँ । गरिब समुदायमा काम गर्दै गर्दा बल्ल मलाई थाहा भयो, गरिबमा महिला धेरै गरिब छन् । दलितमा महिला धेरै दलित छन् । अश्वेतमा महिला अझै धेरै अश्वेत छन् । यो सबै कुरा आफ्नै आँखाअगाडि देखेपछि जवानीमा अलिक रिस उठ्यो होला । साथै के पनि देख्न थालेँ भने यो लडाइँ निकै लामो छ । कुरा बुझ्दै जाँदा परिपक्व हुन थालेँ होला । तर, मैले पुरुषलाई कहिल्यै पनि आफ्नो दुस्मन ठानिनँ । बिहे पुरुषसँगै गरेँ । भाइहरूलाई अहिले पनि असाध्यै माया गर्छु । त्यसैले सधैँ के भनेँ भने महिला अधिकारको लडाइँ पुरुष र स्त्रीबीचको लडाइँ हुँदै होइन । यो लडाइँ दुई विचारधाराबीचको हो । एकातर्फ पितृसत्ता ठीक हो भन्ने छन्, अर्कोतर्फ होइन समानता ठीक हो भन्ने छन् । दुवैतर्फ महिला–पुरुष उत्तिकै छन् । त्यसैले पुरुष पनि नारीवादी हुन सक्छन् ।-नयाँ पत्रिकाबाट