शिरीष सम्बाददाता
महाेत्तरी, कार्तिक ३ गते ।
महोत्तरीमा बालिका अपहरणपछि हत्या गरेको अभियोगमा खोजीसुचिमा रहेका भंगहा नगरपालिका ६ का २५ वर्षीय भरत साहलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ १० गते औरही नगरपालिका १ बाट अपहरित ७ महिने बालिका सोनाली भोलिपल्ट मृत फेला परेकी थिइन् ।
सप्तरीबाट जिप चोरेर भाग्दै गर्दा साह सुनसरीमा पक्राउ परेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बालिका हत्या आरोपी साह सुनसरीमा पक्राउ परेको बताए । प्रहरीको खोजी सुचिमा रहेका आरोपीलाई तत्काल जिल्ला प्रहरी कार्यालय जलेश्वर ल्याइने उनले जानकारी दिए ।
बालिकाको हत्यारा खोज्न अपहरणको समय देखि नै महोत्तरीमा प्रहरी र शसस्त्र प्रहरीले उखुबारी, जंगल र बस्ती चहारेका थिए । बालिका हत्याको विरोधमा औरही, गौशाला लगायतका विभिन्न बजारहरु बन्द भए । चक्का जाम भयो । दोषि पक्राउ गर्न दवाब बढेपछि नेपाल तथा भारतका विभिन्न ठाउँमा हत्यारा खोज्न प्रहरी परिचालन गरिएको थियो ।
पक्राउ परेका साह सिरहा कारागारमा चोरी तथा डाँका मुद्दामा चार वर्ष सजाय काटेर करिब पाँच महिना अघिमात्र मुक्त भएका थिए ।
स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगी बालत्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए ।
घटना पश्चत हत्यारालाई यथासिघ्र पक्राउ गरी कार्वाही गर्न औरहीबासी बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए ।