शिरीष सम्बाददाता
जनकपुर ३० गते असाेज
दशैको बेला प्रदेश–२ को प्रमुख शक्तिपीठहरु आकर्षणको केन्द्र हुने गर्छ । जोकोही पनि ती मन्दिरहरुमा पूजापाठ गर्न जाने गर्छन् । नेपालका मात्रै नभई भारतबाट पनि ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु ती शक्तिपीठहरुमा पूजा गर्न जान्छन् ।केही वर्षयता प्रदेश २ का गाउँगाउँमै शक्तिपीठहरु देखापर्न थालेका छन । तर, तीमधये केही चर्चित शक्रिपीठहरुः
राजदेवी मन्दिर
जनकपुरको राजदेवी मन्दिर जनकपुरधामको सबैभन्दा प्राचीन मन्दिरहरुमा पर्छ । मिथिलाका जनकवंशी राजाहरुको कुलदेवीको रुपमा राजदेवीलाई लिइने गरिन्छ । राम मन्दिरको उत्तरतर्फ रहेको सानो प्रवेशद्वार भएर राजदेवी मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिरको गर्भगृहमा धातु वा ढुंगाको कुनै मूर्ति छैन । त्यहाँ माटोको ढिस्कोलाई कुलदेवीको रुपमा प्राचीन कालदेखि नै जनकवंशी राजाहरुले पूजाअर्चना गर्दै आएका छन । राजदेवी माताको प्रतीकको रुपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ ।
बडादशैंको ९ दिनसम्म यस मन्दिरमा देवीको पूजा पाठ गर्नका लागि टाढा टाढाबाट दर्शनार्थीहरुको घुइचो लाग्ने गर्छ । राजदेवी मन्दिरमा नवरात्रको अष्टमी तिथिका दिनमा सबैभन्दा बली दिइने गरिन्छ ।
प्राचीन कालमा मिथिलामा अनिकाल परेको समयमा मन्दिरको स्थापना गरिएको हुन सक्ने एकथरीले अनुमान छ । राजा जनकले राजदेवीको स्थापना तथा पूजा अराधना गरेपश्चात हलो चलाएपछि त्यो समयमा वर्षा भएको किम्बदन्ती छ ।
राजदेवी ऐतिहासिकताका साथ धर्म र संस्कृति बोकेको देवीको मन्दिर हो । यो मन्दिर भूत मेलाका लागि पनि प्रसिद्ध छ ।
सोनामाई शक्तिपीठ
नवरात्रको षष्ठीदेखि मेला सुरु भई नवमी तिथिसम्म चल्ने गर्छ । परापूर्वकालदेखि नै प्रत्येक वर्ष बडादशैंको अवसरमा आयोजना गरिने भूत मेलामा हजारौको भीड लाग्ने गर्छ । तन्त्रसिद्धी तथा भूत बोक्सीमा विश्वास गर्नेहरुको यहाँ ठूलै भीड लाग्ने गर्छ । तान्त्रिक मान्यताअनुसार घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा विश्वास गने गरिन्छ । सोही मान्यता अनुसार तन्त्र साधनाका लागि त्यहाँ पुग्ने गर्छन ।
सोनामाइ स्थानको परिसरमा गलत शक्तिको कुनै असर हुँदैन भक्तजनहरुको विश्वास रहेको छ । मन्दिरमा आफ्नो कष्ट लिएर पुग्नेहरुको कष्ट निवारण हुने भएकाले पनि त्यहाँ भक्तजनहरुको ओइरो लागेको हुन्छ । भूतप्रेत बोक्सी र दुष्ट आत्माबाट सताइएकाहरुको कष्ट निवारण सहजै हुने गर्छ ।
छिन्नमस्ता
प्रदेश २ को आठ जिल्लाहरुमध्ये सप्तरी धार्मिक पर्यटनको हिसाबले महŒवपूर्ण छ । सप्तरीमा रहेको छिन्नमस्ता भगवतीको मन्दिरले यो जिल्लाको रौनकतालाई बढाएको छ ।
जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सखडा गाउँमा छिन्नमस्ता भगवतीको मन्दिर पर्दछ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ रहेको मान्यताका कारण यहाँ नेपाल र भारतका श्रद्धालुहरुमा ठूलै आस्था रहेको छ । छिन्नमस्तामा दशैँको बेला ठूलो मेलासमेत लाग्ने गर्छ । भाकल गरेकाहरु यहाँ बोकाको बलि दिन आउने गर्छन भने हिन्दूहरू सानाठूला सवारी साधन किन्दा चोख्याउनका लागि समेत यहाँ आउँछन ।
छिन्नमस्ता भगवतीको मन्दिरको ईतिहास सिम्रौनगढको इतिहाससँग जोडिएको छ । किम्वदन्तीका अनुसार सन् १०९७ मा मुस्लिम शासकहरुले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव जान बचाएर पाटलीपुत्र(पटना) हुँदै मिथिला आइपुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे । नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्र सिंह देव राजा भए । शक्र सिंह आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगे । त्यसबेला जङलले ढाकिएको यस स्थानमा जङल सफा गर्दा भेटिएको भगवतीको प्रतिमालाई आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाउँ शक्रेश्वरी राखेको मान्यता छ । पछि अपभ्रंस भएर सो स्थानको नाउँ नै सखड़ा पर्न गयो । केही वर्ष पहिलासम्म सखडेश्वरी भगवतीकै नाउँले नै त्यहाँ त्यहाँ पूजा गरिन्थ्यो । भगवतीको प्रतिमामा शिर नभएकोले पछि छिन्नमस्ता भगवतीको नाउँले सो देवीको नामाकरण गरियो ।
सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए। जसको फलस्वरूप सिम्रौनगढ ध्वस्त भयो । सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको हुनसक्ने इतिहासकारहरु अनुमान लगाउँछन ।
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको खुट्टामुनि काटिएको राँगाको टाउको ढुङामा कुँदिएको छ । मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र कालो रङको अर्को मूर्ति समेत स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी नाउँले चिनिन्छ ।
यहाँ बलि दिंदा निस्केको रगतमा झिँगा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि दिने नाउँमा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेको पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक घटनाहरु समेत हुने गरेको त्यहाँ पुग्ने दर्शनार्थीहरु बताउँछन ।
छिन्नमस्ता भगवतीको मन्दिर हिन्दुहरुझैँ मुस्लिम समुदायका लागि पनि त्यतिकै आस्थाको केन्द्रको रुपमा रहेको छ ।
यहाँ लाग्ने भूत मेलामा महोत्तरी, धनुषा ,सर्लाही ,बारा ,पर्सा लगायत नेपालका विभिन्न स्थानहरुका साथै भारतबाट समेत श्रद्धालुहरु पुग्ने गर्छन ।
गढीमाईः
बाराको गढीमाई मन्दिर विश्व प्रसिद्ध रहेको छ । यहाँका शक्तिपीठहरुमध्ये गढीमाई मन्दिर पनि एक हो । गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि लाग्ने गर्छ । नेपालका विभिन्न जिल्लाहरुका साथै भारतीयहरुको समेत यहाँ ठूलो भीड लाग्ने गर्छ । त्यहाँ पूजा गर्ने पूजारी थारु समुदायको रहेका छन् ।
गढीमाईको पूजा अर्चना गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू कटबासीमाई, कंकालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । गढीमाई मन्दिरमा पूजा गर्न आउनेहरुका लागि उनको बहिनीहरुको समेत पूजा गर्नु अनिवार्य हुन्छ ।
गढीमाई भगवतीको स्थापनालाई विभिन्न खाले किम्वदन्ति प्रचलित रहेको पाइन्छ । एक किम्वदन्तिका अनुसार मंदिरको स्थापना ८ सय वर्ष पहिले बरियारपुरका भगवान चौधरीले गरेका थिए । एक कथाका अनुसार भगवान चौधरीलाई चोरीको झुठो आरोप लागेको थियो । सोही आरोपबाट गढीमाई भगवतीले मुक्ति दिलाएका थिए । आरोपबाट मुक्ति गराए वापत भगवतीले चौधरीलाई आफ्नै गाउँ लग्न आदेश दिएकी थिइन । सोही आदेश अनुसार भगवान चौधरीले गढीमाई भगवतीको मन्दिर बरियारपुरमा गरेका मान्यता छ ।
बरियारपुरमा माताको मन्दिर स्थापना भएपछि त्यहाँ अकाल मृत्यु हुन शुरु भयो । चौधरी सो समस्याको समाधान खोज्न गढीमाई कहाँ पुगे । त्यसपछि माताले पञ्चवलीका साथै नरवली दिएपछि सबै समस्या समाधान हुने सुनाए । भगवान चौधरी नरवलीका लागि धेरै गाउँ घूमे तर कोही पनि भेटाएनन् । फेरि उनी माताकै शरणमा पुगे । गढीमाईले त्यसपछि सेमरी गाउँ जान सल्लाह दिए । जुन गाउँ अहिले रौतहट जिल्लामा पर्छ । त्यहाँ भगवान चौधरीले एक जनालाई भेटे । तर उसले शर्त राख्यो भगवतीको सवारी मेरो घरमा हुन्छ भने मात्रै पाँच थोपा रगत दिनेछु । त्यस दिनदेखिनै पाँच थोपा रगत गढीमाई भगवतीलाई चढाउने गरिन्छ । पंचबली अन्तर्गत मातालाई बोका, जंगली मुसा, सुंगुर, कुखुरा, पाडा आदि दिइन्छ । पहिलो पटक जसले पाँच थोपा रगत दिएका थिए उनकै परिवारबाट कुनै एकजनाले रगतको थोपा दिएर यो परम्परा पूरा गर्ने गर्छन ।