शिरीष सम्बाददाता
महेन्द्रनगर (धनुषा) २४ गते
नेपालीहरुको महान चाड दशैको पहिलो दिन बुधवार घटस्थापना । नेपालीहरूको महान् चाड विजया दशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नु पूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधि पूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त बुधवार बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म, बिहान पौने ११ देखि सवा १२ बजेसम्म र बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधि पूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।
कलश स्थापना कसरी गर्ने ?
पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् ।
मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।
दूर्गा सम्पशतीको पाठ गर्नुहोस्
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् ।
यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।
यी कुरामा विचार गर्नुहोस्
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् ।