शिरीष सम्बाददाता
धनुषा २०गते असाेज
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर अञ्चल अस्पतालको नाम परिवर्तन गरी डा. लक्ष्मीनारायण झाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी जनकपुरले शुरु गरेको ‘ब्लड कम्पोनेन्ट सर्भिस’ कार्यक्रमको शनिबार उद्घाटन गर्दै उपसभापति निधिले पेशागत र राजनीतिक रूपमा पनि डा. झाको योगदान अबिश्मरणीय रहेको बताए।
राजनीतिज्ञका नाममा विभिन्न अस्पतालको नामाकरण भइरहेको प्रसंग उल्लेख गर्दै नेता निधिले भने, ‘जनकपुर अञ्चल अस्पताल झाको नाममा नामाकरण गर्दा उहाँको सम्मान हुनेछ।’
निधिले अस्पताललाई अझ स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए। ‘ब्लड कम्पोनेन्ट सर्भिस’ सञ्चालन गर्न उपकरण खरिदमा जनकपुर रेडक्रसलाई धनुषाको नगराइन नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
मुलुकमा गणतन्त्रका लागि संघर्ष गरेकै कारण तत्कालीन पञ्चायती सरकारले डा. झालाई बेपत्ता पारेको थियो। पेशाले सर्जन रहेका धनुषाको डेवडिहा निवासी झाको अवस्था अझै अज्ञात छ।