शिरीष सम्बाददाता
जनकपुरधाम, असोज २ ।
मुख्यमन्त्री लालबाबु राउतले यसै आर्थिक वर्षमा ५ वर्ष मुनिका ५ हजार बालिकाको शिक्षा विमा गरिने बताउनु भएको छ ।
क्षिरेश्वर नाथ नपा ५ स्थित मदरसा अनवारुल उलुमले आज आयोजना गरेको बेटी पढाउ , बेटी बचाउ कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भित्रका सबै वालिकाको विमा गरिने कार्यक्रम रहेपनि यस आर्थिक वर्षमा ५ हजार वालिकाको विमा गराउन लागिएको बताउनु भयो । पहिलो चरणमा गरि विमामा दलित, मुस्लिम र आर्थिक रुपले विपन्न परिवारको बालिकाको विमा गरिने जानकारी गराउनु भएको हो ।
उहाँले समाज रुपान्तरणको लागि महिला शिक्षाको महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम संचालन गरि रहेको उल्लेख गर्दै कार्यक्रम अन्तर्गत यस वर्ष प्रत्येक जिल्लामा एक ÷एक हजार साइकल वितरण गरिने बताउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २मा मुस्लिम समुदायको अवस्था दलित भन्दा पनि पछाडी रहेको उल्लेख गर्नु हुँदै छोरा छोरीको समान शिक्षामा जोड दिन आग्रह समेत गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ हाम्रो सोचमा अझै परिवर्तन आउन सकेको छैन, छोरा र छोरीलाई हाम्रो समाजले समान व्यवहार गर्न नसकेकै कारण हामी पछाडी परेका छौ , अवको हाम्रो सोच समान शिक्षा तर्फ अग्रह हुनु पर्दछ । अनि मात्र हामी समाजलाई अगाडी बढाउन सक्दछौ । ’
उहाँले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रममा स्थानीय तहलाई पनि सहयोग गर्न आग्रह गर्नु भयो ।
मदरसाका मोलबी नाजिर नदाफको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य सत्रुधन महतो, जयनुल राइन, जिसस सभापति रामदेव वनरैत यादव , नगर प्रमुख योगेन्द्र पजियार सहितको उपस्थिति रहेको थियो ।