शिरीष सम्बाददाता
जनकपुरधाम, भदौ ३१ गते ।
जनकपुर–पटना बस सेवा शुरु भएको छ । प्रदेश २ को मुकाम जनकपुरदेखि छिमेक देश भारत विहारको राजधानी पटना जोडने बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार हरियो झण्डा देखाएर उदघाटन गर्नुभएको छ ।
मञ्जुश्री प्रालिले नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवा जनकपुरबाट बिहान १० बजे र राति ८ बजे बस खुल्ने छ । त्यस्तै पटनाबाट जनकपुरकालागि अपरान्ह ३ बजे , बिहान ४ बजे र राति ९ बजे बस छुट्ने समय तालिका छ । जनकपुर–पटनाको भाडा भारु. २७५ अर्थात नेपाली रुपैयाँ ४ सय ४० निर्धारण गरिएको छ ।
भिडियो…..
बससेवाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले नेपाल भारत मैत्री बससेवाले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्ध अझै प्रगाढ हुने बताउनुभएको छ । राउतले जनकपुरधाम –पटना नेपाल भारत मैत्री वस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउनु भएको छ ।
नेपालको तर्फबाट स्वयम्भु मंजुश्री यातायात प्रालीले संचालन गर्न लागेको जनकपुर–पटना वस सेवालाई हरियो झण्डा देखाउदै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्ने बताउनु भएको हो । मुख्यमन्त्री राउतले बस सेवाले भारत विहारको राजधानी पटना र प्रदेश नं. २को राजधानी जनकपुरलाई जोडेको हुँदा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्नु भयो ।
नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्नु हुँदै उहाँले बस संचालनमा देखिएको अप्ठयाराहरुलाई अन्त गर्न नेपाल तर्फका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिनु भयो ।
यस अघि गत भदौ २५ गते नेपाल भारत मैत्री बस भारत विहारको राजधानी पटनाबाट जनकपुरको लागि छुटेको थियो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । त्यसपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट समेत जनकपुर पटना बस सेवाको औपचारिक उदघाटन गरिएको छ ।
सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–पटना र काठमाण्डौं–बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।
मोदीले घोषणा गरेको ४ वर्षपछि बससेवा शुरु भएको हो । तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उदघाट्न गरेका जनकपुर–अयोध्या बससेवा अझै सञ्चालनमा आउन सकेको छैन् ।