शिरीष सम्बाददाता
धनुषा भदौ ३१ गते ।
प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ । २०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणाको दिनलाई प्रदेश २ सरकारले पनि मनाउने तयारी गरेको हो । तर दिवसका दिन गरिने कार्यक्रम भने टुंगो लगाउन बाँकी छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसको बिरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनका प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ ।
प्रदेश सरकारका मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखाना परिसरमा संविधान दिवसका दिन बृक्षारोपण गर्ने सरकारको तयारी छ । संविधान दिवसका दिन बृक्षारोपण गर्ने कार्यक्रम मात्र तय भएको तर थप कार्यक्रमको टुंगो लाग्न बाँकी रहेको प्रदेश २ मुख्य सचिव राजेश्वरमान सिंहले बताउनुभयो ।
दुवै मधेसवादी दलले यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाने चर्चा चलाएको थियो । तर सरकार घटक राजपा नेपालले भने असोज ३ लाई कालोदिवस मनाउने घोषणा गरिसकेको छ ।ं
प्रदेश २ मा आफ्नै सरकार र संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्ने भन्नेमा दुवै दल धर्मसंकटमा फसेका छन् ।
संघीय सरकारले असोज ३ गते संविधान दिवस मनाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ । त्यही पत्रको आधारमा प्रदेश २ को सरकार मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारीमा छ ।
संविधान दिवसकाे विराेध गर्न राजपाकाे केन्द्रिय सर्कुलर
बैठकको निर्णयअनुसार संविधान दिवसका दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई सप्तरी, उद्योग, पर्यटन, बन तथा वातारण मन्त्री रामनरेश रायलाई सिरहा, सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झालाई महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई रौतहट खटाएको छ।
संविधान दिवसको दिन राजपाले गर्ने बिरोध सभालाई यी मन्त्रीहरुले सम्बोधन गर्ने राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित पार्टीको पत्रमा उल्लेख छ।