शिरीष सम्बाददाता
महेन्द्रनगर (धनुषा ), १० गते भदाे
प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादवले स्थानीय सरकारलाई नटेर्ने जुनसुकै कार्यालय तथा कर्मचारीलाई कानुनी दायरा भित्र रहेर कारवाही गरिने जनाए । बैकजस्तो ठाउँमा किन तालाबन्दी गर्नु भएको भन्ने प्रश्नमा यादवले भने, प्रदेश सरकारले सवै सरकारी तथा गैरसरकारी कार्यालयमा लागू हुने गरि हामिले सार्वजनिक विदाको घोषणा गरेका थियाैँ तर, यसरी विदाको अवज्ञा गर्नु भनेको प्रदेश सरकारको अधिकारलाई वेवास्ता गर्नु भएकाले तालाबन्दी गरिएको हो ।
भदौ १ गते लागु भएको देवानी कार्यविधी संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको भएपनि यो कानूनी प्रावधानलाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरुले उल्लंघन गरेकोले बाध्य रुपमा प्रदेश सरकार कानून कार्यान्वयन गराएको हो ।