विजयकुमार साह
ढल्केवर २८गते साउन
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थल मै एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ज.१०.प. ८०१८ नम्बरको मोटरसाइकलमा सवार यसै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री जनज्योति बोर्डिङ्ग स्कुलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परि मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार राति करिब ९ बजे मोटरसाइक अनियन्त्रि भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइक उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्री समेत घाइते भएको छ । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाम मन्दिरमा जल चढाउन गइरहेको थिए ।
घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्र प्राथमिक उपचार पश्चात थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । डाक बमको समाचार तयार गर्दा समयसम्म होस खुल्न सकेको थिएन ।
मृतक प्रअ कुसियतको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
यता, निजी विद्यालयहरुको संगठन प्यावसन, एन प्यावसन र मधेश प्यावसनले मृतक प्रअ कुसियतको शोकमा आज सोमबार जिल्लाका सबै निजी विद्यालय बन्द गर्न आह्वान गरेको छ ।