शिरीष सम्बाददाता
महोत्तरी, १५ साउन ।
उच्च अदालत जनकपुरको आदेश एवं पक्षविपक्षबीच भएको सम्झौता विपरीत जलेश्वर मन्दिर सिंहद्वार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
जलेश्वर नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितीमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक चिरञ्जिवी राज ढुंङ्गाना र निवेदक राम विलास साह मेहत्ररीबीच जलेश्वर मन्दिर मुख्यद्वारलाई पुरानै संरचनामा निर्माण गर्नेलगायतको विषयमा एक बर्ष अगाडि सहमति भएको हो । जलेश्वरनाथ मन्दिरको मुख्यद्वार निर्माणधिन अवस्थामा रहेकोमा मुख्यद्वारको माथिल्लो भागमा पुरानो आकृति प्राकृति अनुसार दुईवटा सिंहको मूर्ति, शंकर, पार्वती, बसहा, गणेश र कार्तिकेयको वाहनसहितको मूर्ति राख्ने, पहिलेको दाता रधुनन्दन ठाकुरको शिलालेख मुख्यद्वारमा राख्ने तथा मुख्यद्वारको क्षेत्रफल पूर्वपश्चिम २७ फिट तथा उत्तरदक्षिण ३५ फिट कायम राख्नुपर्ने सहमति उच्च अदालत जनकपुरमा भएको हो ।
दुईपक्षबीच २०७४ श्रावण १६ गते भएको दुईपक्षिय सम्झौता विपरीत बृहत्तरको आदेशमा मुख्यद्वारको बाहिरी र भित्री भागमा रहेको सम्पूर्ण खम्बाहरुमा विभिन्न देवीदेवताका मूर्तिहरुको आकृति निर्माण भइसकेको छ । उच्च अदालतमा भएको सम्झौता विपरीत मुख्यद्वारको लम्बाई र चौडाई रहेको छ । मुख्यद्वारको विषय अदालतमा प्रवेश गराउने निवेदक साहले सहमति विपरीत भइरहेको कार्यबारे बृहत्तर र जलेश्वर नगरपालिकासहितका सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउने, समस्या समाधान नभए पुनः यो विषय अदालतमा लगिने बताए ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जलेश्वरकै रधुनन्दन ठाकुरद्वारा २०३९ सालमा परम्परागत सामग्रीको प्रयोगबाट निर्माण गराइएको सिंहद्वार भत्काइएपछि जलेश्वर मन्दिर सिंहद्वारको विषय अदालतमा प्रवेश पाएको थियो ।