
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलगाम है रामसाईला।
कहिले ऊनी पर्खिन्छन मलाई त कहिले म कुर्छु ऊनीलाई
केहि बेरको प्रतीक्षा पछि भेट हुन्छ हाम्रो
भेट हुँदा खुशीको चमन देखिदैन उनको आँखामा
न मेरो सास फुलेर ढप्प नै हुन्छ
एकअर्काको मुखमा हेरी फिस्स हाँस्छौ र आफ्नो कुर्सी तानेर बस्छौं
दुई बेग्लै कम्पनीका मान्छे काम विशेषको मिटिङ्मा आएको जसरी ।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।
चुपचाप चुपचाप चुपचाप
सन्नाटा चिर्नलाई म गुनगुनाउछु कुनै हिन्दी सिनेमाको गाना
ऊनी भन्छन एकछिन नबोल है एकदुई वटा कल गर्नुछ
म घोत्लिन्छु आफ्नै फोनको याप्ससँग
मेरो आफ्नै संसार सुरु हुन्छ ऊनी आफ्नै धुनमा हुन्छन
यसैबीचमा आईपुग्छ कफि।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।
केहि लिउ है भन्दै मेनु अघि सार्छन ऊनी म गर्छु अर्डर खानाको
अब सोध्छन ऊनी के हुँदैछ जीवनमा? म भन्छु चलिराछ
ऊनी भन्छन चल्तीका नाम जिन्दगी, म भन्छु जय जिन्दगी
आएको खाना एकअर्कालाई बाड्ने चलन छैन हाम्रो
खानापछी मगाइन्छ बिल अब त निस्किने बेला भैगयो
बिदाई भावको हुँदैन,फरक कम्पनीबीच सम्झौता हुन नसकेको जस्तो
ऊनी आफ्नो बाटो म आफ्नो बाटो।
तिम्रो र मेरो भेट फगत दुई चुस्कि कफिको
तिम्रो र मेरो भेटको संवाद फगत दुई अक्षरको शब्दको
भो अब पिरती नलागाम है रामसाईला।