
शिरीष सम्बाददाता
महेन्द्रनगर (धनुषा ),९गते साउन
प्रदेश २ को मन्त्रीमण्डल तेस्रो पटक विस्तार भएको छ । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको हाे । बुधबार मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका हुन् ।
जनकपुर चुरोट कारखानाको कर्बड हलमा सम्पन्न शपथ समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिए ।

यसअघि फागुन ३ गते संघीय समाजवादी फोरमको तर्फबाट मुख्यमन्त्रीमा लालबाबु राउत, आर्थिक मामिलामन्त्रीमा विजय यादव र राजपाबाटबाट भौतिक पूर्वाधारमन्त्रीमा जितेन्द्र सोनलले शपथ लिएका थिए । फागुन १६ गते प्रदेश २ को मन्त्रीमण्डल दोस्रो पटक विस्तार भएको थियो । दोस्रो पटक विस्तार भएको मन्त्रीमण्डलमा संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमा शैलेन्द्र साहले शपथ लिएका थिए ।
राजपाबाट सामाजिक विकासमन्त्रीमा नवलकिशोर साह र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा रामनरेश राय शपथ लिएका थिए । दोस्रोपटक विस्तार भएको मन्त्रीमण्डलमा फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवले शपथ लिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस