
खै किन कलम बन्द छ आजकल
अग्निको जलन मन्द छ आजकल
तिम्रो स्पर्शको कल्पनामा तरङ्गित हुँदैन यो तन
तिम्रो आगमनको खुसीले बढ्दैन यो धडकन
तिम्रो बयानमा खडेरी पर्ने शब्द एकाएक बढेकोछ
अब कसैलाई भन्नू नै छैन यो मन भुसुक्कै डढेकोछ।
खै किन कलम बन्द छ आजकल
अग्निको जलन मन्द छ आजकल
तिम्रो फोनको प्रतीक्षामा बस्ने तिखो कानलाई बोधो बन्न मन छ रे
तिमीलाई म्यासेज लेखिरहने औंला पनि बेरोजगार बन्छु भन्छ रे
झरी पर्ने वर्षातमा मलाई भने वसन्तको बहार छाएको छ
अन्धकार रातपछीको हर बिहानी सुनौलो लाएको छ।
खै किन कलम बन्द छ आजकल
अग्निको जलन मन्द छ आजकल
मन भनेर चिनिने पिण्ड मुटु बन्दै आएको छ
तिम्रो प्रशंसा गर्ने कण्ठले आफ्नै गीत गाएको छ
तिम्रो यादका लहरहरु सपना बनेर बिस्थापित रहेकोछ
तिमी कतै नअटाउने मेरो छुट्टै साम्राज्य स्थापित भएकोछ।
खै किन कलम बन्द छ आजकल
अग्निको जलन मन्द छ आजकल ।।।।