महोत्तरी २०७५ असार २३ गते
महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघा नदीको पुल उच्च जोखिममा भएपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ।
गतसाता नदीमा आएको बाढीले पुलको पूर्वीखण्डको दायाँबायाँ छेउको माटो कटान गरेपछि पुलबाट ठूला सवारीसाधन चलाउनमा रोक लगाइएको हो।
पुलको १ नम्बर पिल्लरको अवस्था कमजोर भएपछि ठूलो सवारीसधान पूर्णरुपमा रोक लगाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। पुलबाट टेम्पो, जीप लगायतका स–साना सवारीसधान चलाउनको लागि अनुमति दिएको तर ठूलो सवारीसाधनलाई खोलाबाट डाइभर्सन बनाएर ओहोरदोहोर गराउँदै आइएको छ।
त्यस्तै नदीमा पानी आएको खण्डमा औरहीबाट गौशालातर्फ आउने ठूला सवारीसाधन बर्दिवास भएर आउने वातावरण मिलाइएको प्रहरीले जनाएको छ।
एक सय ४९ मिटर लम्बाइ रहेको सो पुलबाट बर्दिवास–जलेश्वर सडक खण्डको साथै सर्लाहीको मलंगवासम्म जानको लागि सहज हुने गर्दछ। -शिस