
तिमी ओईलायौँ भने,
मौलाउँछन् पुन :भेदभावहरु ।
तिमी अस्तायौँ भने
उदाउँछन् पुन :वैरभावहरु
तसर्थ, तिम्रो आहत, त्यो हृदयमा
एकमुठी, साहसको
मल्हम लगाउँदै ।
आऊ श्रेया पुन :हिम्मत गर ।
फेरि आट, गर ।
तिम्रा दबिएका र भित्र भित्रै
पलायन ती, मुस्कानहरु,
फिर्ता ल्याउन, आफैँलाई, प्रेरित गर ।
हो,अभिप्रेरित गर ।
आऊ श्रेया पुन :हिम्मत गर ।।
मरुभूमिमा फूल फुलाउने
तिम्रा चाहनाहरु,
बेसहारालाई, साहारा दिने,
तिम्रा बहानाहरु, पुर्ण गर्न ,
तिम्रा टुक्रा टुक्रा भएका ,
ती मुटुहरुलाई,
सहनशीलताको, पट्टी लगाउँदै ।
आऊ श्रेया पुन :दृढ संकल्प गर ।
फेरि प्रतिज्ञा गर ।
तिम्रो रुमल्लिरहेका र भित्र भित्रै
निशब्द भै रहेका,
तिम्रो प्रेरणादायी, शब्दहरुलाई ,
तिम्रो कलमको, माध्यमद्वारा
आवाज बुलन्द पार्न,
आफैँलाई प्रेरित गर ।
हो अभिप्रेरित गर ।
आऊ श्रेया पुन :हिम्मत गर ।।।
तिम्रो शिर झुके, यहाँ
असत्यको जीत, हुन्छ फेरि ।
तिम्रो श्वास, रुके यहाँ
निहत्था र कमजोर मर्छन्, फेरि ।
तसर्थ तिम्रो चर्किएको,
छातीको ,आलो घाउहरुलाई
तिम्रै मन्द मुस्कानले,
ढाकछोप गर्दै ।
आऊ श्रेया पुन :हिम्मत गर ।
फेरि साहस गर ।
तिम्रा सुकोमल, मनहरुलाई
कठोरतामा ,परिमार्जन गर्दै ।
तिम्रो मनोक्रान्तिलाई,
सफल तुल्याउन ।
फेरि प्रतिज्ञा गर ।
तिम्रै मन्द मुस्कानले ,
सुनौलो किरण छर।
आफैँलाई प्रेरित गर ।
हो अभिप्रेरित गर ।
आऊ श्रेया पुन :हिम्मत गर ।।।।।
Meena Aale
Bardibas -5