शिरीष सम्बाददाता
धनुषा २०७५ असार १८गते
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलगत,जातिगत र गुटगत कुरा त्यागेर मुलुक निर्माणमा जुट्न आग्रह गरेका छन् । दलगत र जातिगत जस्ता कुरामा अल्झिए मुलुक अगाडी बढ्न नसक्ने भन्दै नेपालले नातावाद कृपावाद अन्त्य गरी समृद्धि हासिल गर्न सामूहिक प्रयासको खाँचो रहेको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेश २ सरकारले आइतबार संयुक्त रुपमा जनकपुरमा आयोजना गरेको समृद्धिको सपनाः सम्पन्न प्रदेश २ को चाहना विषयक दु दिवसीय गोष्ठीमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । नेपालले बुद्धिजिवीहरुको उर्वर भूमि रहेको प्रदेश २ शिक्षा क्षेत्रमा पछाडी परेकोमा चिन्ता व्यक्त गर्दै शैक्षिक क्षेत्रको विकासका लागि जनतामा जनचेतना जगाउन जोड दिए ।
अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षाको स्तर ज्यादै कमजोर देखिएको बताउँदै राजर्षि जनक विश्वविद्यालय र जानकी मेडिकल कलेज जस्ता शैक्षिक संस्थाहरुलाई अगाडी बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको नेपालले उल्लेख गरे । खाद्य सुरक्षा, सुरक्षित आवास, रोजगार, खानेपानी, शिक्षा लगायतका आवश्यकताहरु २१ औँ शताब्दीको आधार रहेको बताउँदै नेपालले संघीय र प्रदेश सरकार समन्वय गरी अगाडी बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा आमन्त्रण गरिएका नेता नेपालले प्रदेश २ मा कृषि र पर्यटन प्रमुख आर्थिक स्रोतको रुपमा देखिएकोले कृषि क्षेत्रलाई पनि आधुनिकीकरण गर्न सकिए ठुलो आर्थिक मेरुदण्ड तयार हुने स्पष्ट पारे ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएपनि मौसमको खराबीले हेलिकप्टर उड्न नसकेपछि पूर्व प्रधानमन्त्री नेपालले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । प्रधानमन्त्री ओली सहभागी नभएपछि गोष्ठीकै लागि शनिबार जनकपुर पुगेका राजपा संयोजक महन्थ ठाकुर पनि कार्यक्रममा पुगेनन् । त्यसैगरी कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष एवम उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई पनि आमन्त्रण गरिएको थियो । तर, प्रधानमन्त्री ओली सँगै जनकपुर पुग्ने भनिएका यादव पनि कार्यक्रममा सहभागी हुन सकेनन् ।
गोष्ठीको उदघाट्न सत्रमा पूर्व प्रधानमन्त्री नेपाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका साथै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मञ्चमा साथ दिएका थिए । कार्यक्रममा प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह, वन, पर्यटन तथा उद्योग मन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवल किशोर साह अनुपस्थित थिए । दुरदृष्टि भिजन–२०३० सम्मेलन भनिएको गोष्ठीमा प्रदेशसभाका सदस्य, प्रदेश २ का सबै स्थानीय तहका प्रमुख÷उप्रमुखका साथै उद्योगि, व्यवसायीहरुको सहभागिता रहेको छ ।