गोपाल बराल
महोत्तरी, असार ५ गते ।
‘नब्बे बर्ख’क उमर में इ सहारा भेटल’ (नब्बे बर्षको उमेरमा यो सहारा भेट्टाइयो) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका ९० बर्षीय उचित राय दनुवारले आँखा नदेख्नेहरुको सहारा सेतोछडि टेक्दै भन्नुभयो ।
आज सोमबार महोत्तरी नेत्रहिन सङ्घ बर्दिवास र नेपाल नेत्रहिन सङ्घ पुनःस्थापन कार्यक्रम महोत्तरीले आफ्नै बस्तीमा पुगेर आँखा नदेख्ने अपाङ्गता भएकालाई हिंडडूलमा सहारा हुने सेतोछडि दिएपछि दनुवारलाई केही बिशेष कुरा पाएको महसुस भएको छ ।
‘बौवा, इ त चलफिर में बड सहज बुझायत अछि’ (बाबु, यो त हिंडडूल गर्न साँच्चै सजिलो हुँदो रहेछ) सेतो छडि टेकेर अलीअली टहलिदै दनुवारले भन्नुभयो–, ‘साइठ बर्खक उमर में आँइख बन्द भेल बेर इ समान भेटित त जिनगी सायद एत्तेक बोझिल नई रहित’ (साठी बर्षको उमेरमा आँखा गुमेको मलाई त्यतिखेरै यो लठी भेटेको भए त्यसयता बिताएको जीवन सायद मैले भोगेजति बोझिलो हुन्थेन होला) । .
दनुवारजस्तै बिभिन्न अङ्ग अपाङ्गता भएका भङ्गाहा नगर क्षेत्रकै अन्य ३३ जनाले एल्बो क्रुचेज, ह्वीलचेयर, ट्राइसाइकल र बैशाखीसहितका सहारा पाएका छन् । ‘अपाङ्गताकै कारण हिंडडूल गर्न नसक्दा कतिपय अवस्थामा आफ्नो जिन्दगी आफैलाई बोझिलो लाग्थ्यो’ जन्मदै आँखा गुमाएका भङ्गाहा–४ कै ७० बर्षीय अर्जीलाल रायले आजै पाएको सेतोछडि घुमाउँदै भन्नुभयो–, ‘अब चै ठूलो रोगले सताएर लडाएन भने सेतो छडिको सहाराले ओरपर मज्जाले घुमफिर गरिने भो ।’
भङ्गाहामा जस्तै आजै जिल्लाकै बर्दिवास नगरपालिकामा पनि यिनै दुबै संस्थाले ४५ जना अपाङ्गता भएकालाई एल्बो क्रुचेज, ह्वीलचेयर, ट्राइसाइकल र बैशाखीसहितका सहारा वितरण गरेको छ ।
बर्दिवासमा आज ७० बर्षको उमेरमा ह्वीलचेयर पाएपछि बर्दिवास–१ की डम्बरकुमारी श्रेष्ठ पनि फुरुङ्ग पर्नु भएको छ । ‘नानी गोडा चल्दैन, कुँजिएर बस्नु पथ्र्यो’ ह्वीलिचेयरमा बसेर त्यसलाई हातको बलले गुडाउँदै श्रेष्ठले भन्नुभयो–, ‘अब त यसो वरपर आँगन डुल्न पाइने भो ।’
श्रेष्ठजस्तै बर्दिवास–९ पशुपतिनगरका ६९ बर्षीय सुमन मण्डल र बर्दिवास–५ माइस्थानकी ७२ बर्षीया सानुमाया बुढाथोकीलाई पनि आज पाएको ह्वीलचेयरले अबको बाँकी जीवन अली सहज हुने आस जागेको छ । ‘बौवा बड् निक समान भेटल’ (बाबु, धेरै राम्रो समान पाँए) ६९ बर्षीय मण्डलले आफ्नो मातृभाषा मैथिलीमै भन्नुभयो–, ‘आब बुढारी तनिक सहज होयत से आस जागल’ ( अब बुढ्यौली अली सजिलो होलाभन्ने आस पलायो) ।
आँखाको अपाङ्गता भएकालाई सेतो छडि, हात÷गोडाको अपाङ्ग समस्या भएकालाई ट्राईसाइकल र ह्वीलचेयर , हातगोडाका जोर्नी र अन्य समस्या भएकालाई एल्बो क्रुचेज र बैशाखी बितरण गरिएको नेपाल नेत्रहिन सङ्घ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक अमृत राइले जानकारी दिनुभयो ।
दुबै नगरपालिकामा यि सामग्री वितरण गर्न दुबै नगरपालिकाको नगर कार्य पालिकाको कार्यालय, राष्ट्रिय अपाङ्ग पुनःस्थापन समाज काठमाण्डौं र समाज कल्याण परिषदको राष्ट्रिय अपाङ्ग सहायता कोषले सहयोग गरेको दुबै आयोजक संस्थाले जनाएका छन् ।
अपाङ्गता भएकाहरुलाई यि सामग्री वितरण गर्ने समारोहमा दुबै नगरपालिकाका प्रमुख (बिदुरकुमार कार्की –, बर्दिवास नगरपालिका र सञ्जिवकुमार साह–, भङ्गाहा नगरपालिका) , राष्ट्रिय अपाङ्ग पुनःस्थापन समाज काठमाण्डौं र समाज कल्याण परिषदको राष्ट्रिय अपाङ्ग सहायता कोषका प्रतिनिधिहरु क्रमशः गोपाल भण्डारी र सुगम भट्टराईको उपस्थिति थियो ।
दुबै कार्यक्रमको अध्यक्षता महोत्तरी नेत्रहिन सङ्घका अध्यक्ष बीरेन्द्र महतो र सञ्चालन पनि आँखाकै अपाङ्गता भएका भविष्यकुमार झाले गर्नुभएको थियो ।—
तश्वीरमा बर्दिवास—११ का सागरबहादुर बिसंखे सेतोछडि पाएपछि र डम्बरकुमारी श्रेष्ठसहित तीनजना ह्वीलचेयरमा ।