महोत्तरी २०७५ जेष्ठ २८गते
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपालबाट समाजवादको आधार निर्माण गर्ने मोडेल विश्वका लागि एउटा राम्रो उदाहरण बन्न सक्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षप्रचण्डले सो कुराको दाबी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले संसारले विकल्प खोजिरहेको बेलामा नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेर एउटा बलियो राष्ट्रिय एकता सहित सुशासन, विकास र समृद्धिको नयाँ मोडल तयार भएको छ ।’
पार्टी एकताको आयाम राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पनि रहेको उनको भनाई थियो । ‘नेपाल कम्युनिष्ट पार्टी गठन भएको प्रक्रियातिर विश्वभरिको ध्यान केन्द्रित भएको छ । नेपालबाट संसारले केही नयाँ कुरा सिक्न चाहेको छ ।’
नेपालमा भएको राजनीतिक क्रान्ति र परिवर्तन र नेपालमा कायम भएको कम्युनिष्ट एकता र लोकप्रिय सरकार, विकास र समृद्धिको मोडेल समाजवाद तिरको नयाँ यात्राको प्रारम्भ रहेको अध्यक्षको भनाई थियो ।
अध्यक्ष प्रचण्डले भने– ‘यो पार्टी एकतालाई हामी सबैले गर्वका साथ रक्षा, सुदृढ र विश्वका श्रमजीवि जनताका हक अधिकारका लागि योगदान गर्न मेहेनत गर्नुपर्नेछ ।’ अध्यक्ष प्रचण्डले एकताबाट श्रमजीविहरुका लागि खुशी भएको तर दलाल, पूँजीवादी, सामन्ती र प्रतिक्रियावादीहरुलाई चिन्तित बनाएको बताए ।-शिस