शिरीष सम्बाददाता
महेन्द्रनगर(धनुषा) २६ गते
मारवाडी सेवा समितिका भातृ संगठन मारवाडी युवा मंचद्धारा दुई दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दुईदिने रक्तदान कार्यक्रममा अन्तर्गत प्रथम दिन जनकपुरमा र दोश्रो दिन क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको हो।
रक्तदान जीवनदान भन्ने मूल नारा सहित मंचले शनिवार महेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियारले रक्तदान गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रमबाट जनकपुरमा १ सय ३ पोका तथा महेन्द्रनगरबाट ७७ पोका रक्त संकलन गरिएको मंचका कोषाध्यक्ष राहुल सिंघानियाले बताए ।
क्षीरेश्वरनाथ नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको उक्त रक्तदान विहान ७ बजे देखि नेपाल रेडक्रस सोसाईटी धनुषाको प्राविधिक सहयोग गरिएको थियो । उक्त अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष ललित बजाज, कोषाध्यक्ष समीर मुरारका, वरिष्ठ उपाध्यक्ष मनोज रुंगटा, केन्दिय सदस्य दीपक बजाज, डाबर नेपालका एरिया इन्चार्ज पंकज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
युवा मंचका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षता एवं नगरप्रमुख पजियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मंचका महासचिव बिक्रम जैन, कोषाध्यक्ष राहुल सिंघानिया, संचाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
यसैबीच रक्तदान स्थलबाट नै एक आवश्यक व्यक्तिलाई रक्त समेत उलब्ध गराईएको थियो । अस्पतालमा रक्त अभावको कारणले रक्त आवश्यक्ता भएको भन्दै सुझाएको आधारमा रक्तदान स्थल मै पुगेर मंचका कोषाध्यक्ष सिंघानियाले उक्त रक्त सहयोग गरेका हुन् ।