जनकपुर,जेठ २० गते ।
धनुषामा आफ्नै दाजुलाई गोरुजस्तै बाँधेर कुटपीट गरि कागजमा जबरजस्ती औंठाछाप गराईएको घटना सार्वजनिक भएको छ ।
जनकपुर उपमहानगरपालिकाको वडा नम्वर २१ कुर्था बस्ने रामएकबाल मण्डल,रामकेवल मण्डल र उनका छोराहरु संतोष मण्डल,मनिष मण्डल,ओमकार मण्डल,रवि मण्डल र आनन्द मण्डलले आफ्नै काका शिवजी मण्डल र काकी शान्ति देवी मण्डल तथा भाउजु अमृता देवी मण्डललाई निर्घात कुटपीट गरि जबरजस्ती औंठाछाप गराएका छन । अंशबण्डा सम्वन्धी विवाद हुुदाँ उनी तीनै जना गम्भिर घाइते भएका छन् ।
उनीहरुको उपचार जनकपुुर अञ्चल अस्पतालमा भईरहेको छ । घाईते मध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोटपटक लागेको छ । गम्भीर घाइते भएका शिवजी र उनका भाईहरु रामएकवाल र रामकेवलबिच धैरै पहिले अंशबण्डा सम्बन्धी विवाद भएको थियो । पछि शिवजीले मुद्दा जितेर भोगचलन गर्दै आएको जग्गा उनीहरुले जबरजस्ती आफुहरुको नाममा गर्न दवाव दिदैं आएका थिए ।
शिवजीले उनीहरुको कुरा नमानेपछि शनिबार उनीहरु पूरै परिवार मिलेर शिवजीको घरमा गई जबरजस्ती घरबाट निकालेर उनी लगायत उनका पत्नी र बुहारीलाई मरनासन्न हुनेगरि कुटपीट गरेर जबरजस्ती औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले बताए । उनले यसकार्यमा उनीहरुलाई नेपाली काँग्रेस र राजपाका स्थानीय नेता लगायत लेखनदासले समेत सहयोग गरेको बताए ।
काँग्रेसका राजाराम मण्डल,महेन्द्र महतो,उमेश यादव,राजनारायण साह र राजपाका परमेश्वर साह लगायत लेखनदास ओपेन्द्र साह समेतको संलग्नतामा आफ्नो बुवाआमालाई निर्घात कुटपीट गरि जबरजस्ती औंठाछाप गराईएको पीडित अनिलले दोहोर्याए । उनले आफ्नो घरको झयाल ढोकाहरु समेत तोडफोड गरिएको दुःखेसो पोखे । यद्यपि अहिले पनि कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरुलाई पक्रन र दोषीउपर कारवाही अगाडि बढाउन प्रहरीले ढिलासुस्ती गरिरहेको स्थानीयको गुनासो छ ।
मधेसमा अहिले पनि १८ औं शताब्दीको जंगबहादुर राणाकालीन सामन्ती परिपाटी हटेको छैन भन्ने एउटा कुरुप घटनाले प्रष्ट भएको बुझिन्छ ।-दिपक कर्ण