विनोद महतो-
धनुषा, जेष्ठ १४ ।
‘नो मोर लिमिट’ मूल नाराका साथ यस वर्ष विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । यो दिवस धनुषामा समेत विविध जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी, महिनावारी नियमित प्रक्रिया हो, यो लाजको हैन गर्वको विषय हो, महिनावारी सम्बन्धी गलत धारणा र अभ्यासलाई अन्त्य गरौं, सधैं सफा र सुरक्षित प्याडको मात्र प्रयोग गरौं’ जस्ता विभिन्न चेतनामूलक नारा सहित महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
धनुषामा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले दिवसको अवसरमा महिनावारी स्वच्छता, प्याडको प्रयोग, महिनावारीको चक्र, समाजको दृष्टिकोण, व्यक्तिगत सरसफाइ लगायत विषयमा अन्तरक्रिया, भिडियो शो, रैली, गोष्ठी लगायतको विविध कार्यक्रम गरेको छ । यसै क्रममा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजमा मावि स्तरका विद्यालयका छात्राहरुसँग सँग अन्तरक्रिया र भिडियो शो गरिएको छ । नक्टाझिजको जनता उच्च माविका कक्षा ७ देखि कक्षा १२ सम्म र रामजानकी विद्या आश्रम स्कुलका कक्षा ५ देखि कक्षा ८ सम्मको छात्राहरुलाई महिनावारी स्वच्छता सम्बन्धी जनचेतना मूलक भिडियोहरु देखाउँदै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजका वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा यूएन ह्याविट्याटको धनुषा संयोजक उमा सिम्खडा, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, समाज विकास पथ (सोडेप)का वास अफिसर विनोद कुमार महतो, सत्यदेव कापर, क्लवका रामचन्द्र महतो लगायतले सहजीरकण गर्नुभएको थियो । वडा कार्यालयको सभाहल र रामजानकी विद्या आश्रममा गरिएको सो छुट्टा छुट्टै दुवै कार्यक्रममा करिव २ सय छात्राहरुको उपस्थिति रहेको थियो ।
यता दिवसकै अवसरमा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नं.४ खजुरीचन्हाको महरा टोल र कमला नगरपालिका वडा नंं. ५ लक्कडको मुसहर टोलमा महिनावारी स्वच्छता सम्बन्धी महिलाहरुसँग छलफल गरिएको छ । सो कार्यक्रममा समाज उत्थान युवा केन्द्र (सुयुक) का कार्यक्रम संयोजक अर्जून दहाल र वास अधिकृत सजीत कुमार मण्डलले महिनावारी सरसफाइ सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । यता प्याक नेपालले समेत आफ्नो कार्य क्षेत्रमा विविध कार्यक्रम गरी महिनावारी स्वच्छता दिवस मनाएको कार्यक्रम संयोजक संजिव सिंहले बताउनुभएको छ ।
अंग्रेजी महिनाको यो पाँचौ महिना ‘मे’ मा संसारभरी नै ‘स्वस्थ महिनावारी’ अधिकारको महिनाका रुपमा मनाइरहेको छ । नेपालले पनि सन् २०१४ देखि महिनावारी दिवस मनाउन थालेको छ । महिलाहरुमा महिनावारी हुँदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाँच दिन हुने भएकोले पाँचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनावारी चक्र सालाखाला २८ दिनको हुने भएकोले मे २८ तारिखलाई दिवसको रुपमा मानिएको हो ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि विश्व विकासको इतिहासमा महिनावारी दिवसले ठाउँ पाएको छ । अर्थात् प्राकृतिक रुपमा प्राप्त महिनावारी जुन संसार भरिकै महिलाहरुले अनुभव गर्छन् र जन्मेदेखि मर्ने वेलासम्म यसको प्राकृतिक प्रभाव र सामाजिक मूल्य मान्यता भए पनि लामो समयको अन्तरालमा मात्र महिनावारीलाई एक सवाल र बहसको रुपमा हेर्न थालिएको सरोकारबलाहरु बताउँछन् ।
त्यसैगरी महाेतरीमा धक खोलेर महिनावारी सम्बन्धी किशोरीहरुले जिज्ञासा राख्न थाले
रंजन भण्डारी
महोत्तरी,१४ जेष्ठ ।
महिनावारी सम्बन्धि प्रश्न र जिज्ञासाहरु किशोरीहरुले धक खोलेर राख्न थालेकि छिन । विद्यालयमा अध्ययनरत वालिकाहरुले आफुहरुले महिनावारी हुदा पहिले धेरै जानकारी नभएपनि महिनावारी सम्बन्धी नै कार्यक्रम विद्यालयमै भएपछि सो वेला अपनाउने सावधानी लगायतका थप जाकारी लिन आफुहरु उत्साहित भएको बताईन । अधिकांश किशोरीहरुको लागि यो नौलो अनुभव भएको र सवैमा यो नियमित प्राकृतिक प्रकृया हुने गरेकोले यसवारे उनीहरुको जिज्ञासा समेत वढेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा रतौली युवा क्लवको सहजीकरणमा जलेश्वर स्थित ल.च.मु.मा.वि.मा विश्व महिनावारी स्वच्छता दिवशको अवसरमा कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई महिनावारी वारे जानकारी दिने उदेश्यले संचालित जनचेतना कार्यक्रममा किशोरीहरुले आफ्ना जिज्ञासा मेटेकि थिईन ।
महिनावारी स्वच्छता मार्फत महिला तथा किशोरीहरुको शसक्तिकरण भन्ने नाराका साथ विद्यालय लक्षित जनचेतना कार्यक्रममा किशोरीहरुलाई महिनावारीको वेला अपनाईने सावधानी,महिनावारी के हो भन्ने जानकारी,सेनेटेरी प्याड सम्वन्धि जानकारी,तथा समाजमा महिनावारी सम्बन्धि रहेको धारना तथा वास्तविकता वारे विशेष जाकारी गराईएको थियो ।
कार्यक्रममै कक्षा ८ मा अध्ययनरत एक किशोरीले पहिलो पटक महिनावारी भएदेखि हालसम्म पनि हरेक महिनामा रजस्वला हुदा घरमा सो वारे कसैलाई भन्न लाज लाग्ने गरेको वताईन । उनले विद्यालयममै महिनावारी सम्बन्धी विभिन्न जानकारी हुदा अव धक खुलेको र लाज समेत हराएको वताईन । उनले यो प्राकृतिक प्रकृया भएको वल्ल आफुले वुझेको समेत थपिन । उनले महिनावारी भएको वेला पहिले पुराना कपडाहरु प्रयोग गर्ने गरेको भएपनि अव भने सेनेटरी प्याड वा स्वच्छ कपडाको प्याड मात्र प्रयोग गर्ने समेत बताईन । उनीसंगै धेरै किशोरीहरुले आफ्नो जिज्ञासा मेटेकि थिईन ।
यता ल.च.मु.मा.वि.कै प्रधानाध्यापक संजिव झा ले आफुहरुले समेत हालसम्म विद्यालयमै सेनेटरी प्याड नराखेपनि अव भने सहज रुपमै विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने वताए ।
त्यसतै महिनावारी वारे प्रशिक्षण दिएकि प्रशिक्षकद्वय सुस्मिता ठाकुर र अमृता मोचीले विद्यालयमा पुग्दा धेरै किशोरीहरुले हालसम्म कसैसंग आफ्ना समस्याहरुवारे जिज्ञासा राख्न नसकेपनि आफुसंग भने अधिकांश किशोरीहरुले आफ्ना गोप्य कुराहरु र समस्याहरु साटेको वताईन । यता जिल्लाका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी पठन पाठन हुने गरेपनि खुलेरै छलफल र वहसको अभाव देखिएको छ ।
ध्यान नदिदा गम्भिर समस्या आउने ः
महिनावारीको वेला फोहोर र प्रयोग गर्न योग्य नभएको कपडाहरु प्रयोग गरिदा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु समेत देखिने गरिएको छ । यसले महिलाहरुमा गम्भिर संक्रमण भई ज्यान समेत जान सक्ने वा वाझोपनको समस्या हुन सक्ने नेपाल प्रहरी अस्पतालका प्रहरी निरिक्षक डा.सतिस कुमार साहले बताए ।