मैले यो सामाग्री लेख्दा ‘हिन्दु धर्म हाम्रो ठेक्का हो’ भन्नेहरुको टाउको दुख्ला। तर मैले समाज रुपातन्तरण गर्ने अहम विषयको उठान गर्न खोजेको हुँ। उनीहरुको टाउको, पेट जे जे दुखे पनि उनीहरुलाई नै दुख्छ।
आज म सम्झँदैछु करिब २५ बर्ष अगाडिको कुरा। जुनबेला म विद्यार्थी नै थिएँ।
मेरा एकजना दाजु थिए ‘पदमबहादुर दर्जी।’ एक दिन म मेरो घर नजिकको दोकान डाँडामा क्यारम बोर्ड खेल्दै थिएँ। साँझ पर्दासम्म पनि घर नगएपछि मेरो बुबाले पिठ्युँमा लठ्ठी लुकाएर दोकान डाँडामै सोड्क्यान हान्न थालेपछि तिनै दर्जी दाजुले मलाई जोगाए। मलाई भगाए अनि उनकै कोठामा लगेर संरक्षण दिए।
मलाई घर जान डर लागिरहेको थियो। उनले उनकै कोठामा मलाई खाना खुवाए। राति तिनै दाजुले मलाई घर पुर्याइदिए अनि बुबालाई सम्झाए।
जुन दिनसम्म दोकान डाँडामा ति दाजु बसे मेरो आशा र भरोसा पनि उनै थिए। मलाई अलिकति गाह्रो पर्दा उनकै साथ पाउँथें। मेरो दुःखमा उनी पनि आँशु झार्थे। उनै दाजुसंग हुँदा मलाई मेरो बुबा आमाबाट पनि कुनै बाधा अवरोध हुँदैनथ्यो।
अहिले पनि दिनमा एकपटक उनै दाजुलाई सम्झन्छु। उनको आत्मीयता मेरो स्मरणमा ताजै छ।
मैले आज ति दिन किन सम्झें? मानिसहरुका हरेक उत्पीडनमा जातीय उत्पीडन सबभन्दा ठूलो उत्पीडन हो भन्ने मलाई लाग्छ। जुन मुद्दाले अहिले झापामात्र होइन सिंगो देशलाई गाँजेको छ। संवैधानिक प्रावधान छ, जातीय भेदभाव गर्नुहुँदैन, छुवाछुत प्रथा दण्डनीय छ भनेर। तर झापा जस्तो शिक्षित भनेर चिनिएको जिल्लामा जातीय उत्पीडनको पछिल्लो घटनाले म लगायत सिंगो जागरुक समाजलाई लज्जित तुल्याइदिएको छ।
एउटा टुहुरो दलित भनिएको परिवारको बालक एउटा गुरुकूलमा पढ्नका लागि जान्छ। त्यहाँ उस्ले पढ्न पाउँदैन। भर्ना लिइँदैन। त्यही हिन्दु समाजको अर्को कुनै स्थानमा जातीय छुवाछुत मानिन्दैन। त्यहाँ दलित भनिएकाहरु पनि सम्मानका साथ बाँच्न पाउँछन्। प्रश्न यहाँनेर छ, के हिन्दु धर्मका शास्त्र सम्प्रदायपिच्छे फरक छन्? कि परिभाषा गर्ने तरिका फरक छन्? एउटै परिभाषामा किन सबै रहन सक्दैनन्?
मान्छेले जहाँ सम्मानका साथ बाँच्न पाउँछ त्यहाँ बस्न रुचाउँछ। त्यही समुदायमा घुलमिल हुन चाहन्छ। धर्म जोगाउने हो भने दलितहरुले हिन्दु धर्म संस्कार सिक्ने अवसर खोइ?
हो, धर्मले मात्र होइन विज्ञानले पनि मान्छे सांस्कारिक बन्नुपर्छ भन्छ। के दलित भनिएकाहरुलाई संस्कार सिक्ने अवसर दिइनुपर्दैन?
मलाई ‘धेर जान्ने हुनु पर्दैन’ भन्नु होला। यो सामाग्री प्रकाशन भएपछि मलाई फोन आउला। भेटेर पनि भन्लान। तर त्यस्को जवाफको पूर्व तयारी मसंग छ।
संविधान भनेको के हो? जानेको बुझेको भनेर आफूलाई ठान्नेहरुलाई अब हामीले बुझाइदिनु पर्ने? सार्वजनिक संस्थाहरुको विधानमा संवैधानिक प्रावधान मिच्ने किसिमका कुरा छन् भने त्यस्लाई तुरुन्त सच्चाइनुपर्छ। यदि मान्दैनन् भने कानुनको कठघरामा उभ्याउनुपर्छ। नेपालको नागरिक हुँ भन्ने हो भने संवैधानिक प्रावधान मान्न सक्नुपर्छ। नत्र उ दण्डित हुनुपर्छ।
पेशाले म शिक्षक तथा पत्रकार हुँ। मेरो २० बर्षको शिक्षण पेशामा छुवाछुत गर्नु हुँदैन भनेर पढाएको छु। मानव सिर्जित भेदभावपूर्ण व्यवहार अब सह्य हुँदैन। हाम्रा दलित भनिएकाहरुले धन्न अहिलेसम्म सहेर बसिदिए। मलाई कसैले ‘तैंले छोएको केही खान्न, तँ पढ्ने ठाउँमा म पढ्दिन, तँसंगै बसेर खान्न’ भन्छ भने मलाई सह्य हुँदैन। त्यसैले म भन्छु, ‘फोहोरी बाहुनको घर भन्दा सफा दलितको घर नै मेरा लागि प्यारो र स्वीकार्य छ।’-खबर मंचबाट