महोत्तरी ,जेठ १३ गते ।
प्रदेश २ मा बलात्कारको तथ्यांक वढ्दै गएपछि नेपाल प्रहरीले बलात्कार न्युनिकरण गर्न जनचेतना तथा अन्य जागरुकताका कार्यक्रमहरु सञ्चालन गरेको छ । तर ती कार्यक्रमहरु प्रभावहिन देखिएको छ । प्रहरीको अभियान चल्दै गर्दा महोत्तरीमा एक नावालिकाको अस्मिता लुटिएको छ भने अर्की नावालिकाको अस्मिता लुट्ने प्रयास गरिएको छ ।
घरमा कोहि नभएको मौका छोपी वैशाख १४ गते मध्यराती सम्सी गाउपालिका कै एक वडामा करिव १४ वर्षिय वालिका यौन पिपाशुको शिकार भईन् भने गत साता मात्रै जलेश्वर नगरपालिकामै एक वालिकालाई बलात्कारको प्रयास गरियो ।
दुवै घटना मिलाउन निकै प्रयास ः
बलात्कार वा बलात्कार प्रयास,हत्या वा हत्या प्रयास तथा अन्य गम्भिर किसिमका मुद्दाहरु मिलापत्र नहुने खालका हुन्छन् । र यस्ता मुद्दाहरुमा आवश्यक अनुसन्धान गरि सिधै दर्ता गर्नु पर्ने हुन्छ । तर यि दुवै घटनामा प्रहरी पक्ष कमजोर देखिएको पिडित पक्षहरुको आरोप छ । दुवै घटनामा प्रहरीले पिडिताहरुको आवश्यक स्वास्थ्य परिक्षणदेखि अन्य प्रकृयाहरुमा विलम्व गरेको र आरोपी पक्षहरुलाई पिडित पक्षहरुसंग मिलापत्र गराउन अप्रत्यक्षरुपमा प्रहरीले सघाएको स्रोतको भनाई छ ।
यसै महिना भएको यो दुवै घटनामा केहि राजनितिक दलका प्रतिनिधीहरु,स्थानिय तथा पहुच भएका व्यक्तिहरु समेतले घटनाहरु मिलाउन प्रयास गरेपनि आफुहरुले नमानेको र न्याय चाहियो भन्दै प्रहरीमाथी खनिएपछि बाध्य भएर प्रहरीले मुद्दा दर्ता गरेको पिडित पक्षहरुको गुनासो छ ।
बलात्कार कै थप केहि घटनाहरु :
१.घटना मिति र समय ः २०७४ माघ ४ गते । समय साझ ५ः३०
सोनमा गाउपालिका वडा नं. २ स्थित घटना स्थलमा बाख्राको लागि घास र पात ल्याउन गएको वेला दुईजना किशोरीलाई पुनः सामुहिक बलात्कार गरियो । बलात्कार गर्ने एकजना पक्राउ परेका छन भने थप तिनजना आरोपी फरार छन । पक्राउ पर्नेमा सोहि ठाउका सामुहिक बलात्कारका आरोपी मनोज साह रहेका र उनीसंग प्रहरीले थप अनुसन्धान थालेका छन भने थप तिनजना उपेन्द्र सदा मुसहर,अरुण महतो नुनिया,ओजीर मिया लगायतका आरोपीको खोजी भईरहेको छ । मनोज साह फागुन ३ गते पुर्पक्षको लागि थुना गएको ।
२. घटना मिति र समय ः २०७४ माघ १० गते । समय साझ ४ बजे ।
गौशाला नगरपालिका वडा नं. ४ स्थित उखुवारीमा एक युवतीलाई बलात्कारको प्रयास गरियो । युवतीले सहमति नजनाउदा उनको हात नै भाचे आरोपीले । हाल आरोपी विपिन राईलाई थप अनुसन्धानमा राखिएको छ ।
३. घटना मिति २०७४ माघ २१ गते । समय राती ९ः३० बजे ।
भंगहा नगरपालिका कै एक वडा स्थित मुसहर वस्तीमा २२ वर्षिया पिडितालाई घरवाट वाहिर सडकको छेउमा पिसाव फेर्न जादा सामुहिक बलात्कार गर्ने प्रयास गरियो । अत्यधिक मादक पदार्थ सेवन गरेका आरोपीहरुको हिम्मत मदिराले वढाएको थियो । नशामा चुर आरोपीहरुबाट पिडिता जसोतसो उम्केर आफ्नो ईज्जत जोगाउन सफल भईन । हाल जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भई चारै जना आरोपीलाई प्रहरीले अनुसन्धानमा राखेको छ ।
घटनाहरुले निरन्तरता पाउदै ः
यी घटनाहरु प्रतिनिधी मात्र हुन । महोत्तरीमा दैनिक कुनै न कुनै स्थानमा महिला बलात्कृत हुदै छिन तर राजनितिक पहुच र पैसा कै भरमा एकाध घटना वाहेक सवै गाउ घर मै मिल्ने गरेको छ ।
केहि घटनाहरु मिलाउन प्रहरीकै अप्रत्यक्ष हात हुने गरेको जनगुनासो आउने गरेपनि प्रहरीले यि आरोपहरु निराधार हुने गरेको बताउछ । महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत भन्छन “महोत्तरीमा हत्या,बलात्कार जस्ता जघन्य अपराध समेत पावर र पैसा कै भरमा मिलाईन्छ । उनी भन्छन हामी पिडितको प्रतिक्षामा हुन्छयौ तर पछि थाहा पाउछौ पिडित ले आरोप फिर्ता लियो । यसरीमा कसरी पिडितलाई न्याय दिलाउनु ?
हामीकहा न्यायको लागि आएको र मुद्दा दर्ता भई अदालत गएको केहि मुद्दामा हामीले सफलता हात पारेपनि अधिकांश मुद्दामा सवुत प्रमाण फितलो हुदा आरोपीहरु छुट्ने पनि गरेका छन । घटना लगतै पिडित प्रहरीकोमा आउनु पर्नेमा अधिकांश पिडितले सवुत प्रमाण मेटिसकेपछि मात्र आउने गरेपछि यस्तो समस्या आएको हो ।”
महोत्तरीमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ७ बलात्कार १ अप्राकृतिक मैथुन र र्७ बलात्कारका प्रयासहरु भएको प्रहरी तथ्यांक छ । यता नया वर्षको पहिलो महिनामा दुई नावालिका मध्ये एकसंग बलात्कार र एकसंग बलात्कार प्रयास गरियो । यसरी चालु आर्थिक वर्ष मै ८ बलात्कार र ८ बलात्कार प्रयास भएको छ भने एक अप्राकृतिक मैथुन को मुद्दा समेत दर्ता गरिएको प्रहरी तथ्यांक छ ।
गत आर्थिक वर्षमा ८ जना बलात्कृत भए र ५ जनासंग बलात्कारको प्रयास गरियो । जिल्ला सरकारी वकिल कार्यलयको मार्फत गत आर्थिक वर्षमा दायर भएका उक्त मुद्दाहरु मध्ये बलात्कार शिर्षकमा दायर भएका मुद्दा मध्ये ३ मुद्दाको फैसला पिडितको विपक्षमा भएको छ भने दुई मुद्दा पिडकको पक्षमा फैसला भएको छ ।
त्यसतै थप एक हाडनाता करणीको मुद्दामा समेत अदालतले पिडिताको पक्षमा फैसला सुनाएको थियो । यता १ मुद्दामा आरोपीलाई साधारण तारेखमा छोडिएको छ भने अर्को एक मुद्दामा आरोपी पुर्पक्षको लागि जलेश्वर कारागारमा रहेका छन ।
त्यसतै बलात्कार प्रयासको गत आर्थिक वर्षमा चलेको मुद्दामा ४ मुद्दा पिडितको विपक्षमा फैसला भएको छ भने एउटा मुद्दा साधारण तारेखमा छुटेको छ ।आर्थिक वर्ष ०७२।७३ मा बलात्कार १० र प्रयास ५ भए । प्रस्तुत तथ्यांकहरु मुद्दा दर्ता भएकाहरु छन तर बलात्कृतको संख्या यसको कयौ गुणा छ ।
महिला अधिकारकर्मी भन्छिन ः
“अझै हाम्रो समाजमा हत्या र बलात्कार जस्ता जघन्य अपराधमा पिडित न्यायालय समक्ष पुग्नै पाउदैन । केहि पुगेपनि अधिकांशको मुद्दा कमजोर बनाईन्छ र पिडिता न्याय बाटै बन्चित हुने गरिएको छ । ” महिला अधिकारकर्मी रन्जु बराल भन्छिन ।
हालै गौशाला २ का बलात्कारका अपराधीलाई १० वर्षको जेल सजाय र ५० हजार क्षतिपुर्ती जिल्ला अदालतले तोक्यो तर यस्तो सवै घटनामा देखिदैन । मुद्दा कमजोर गर्न वा मुद्दा दर्ता नै नहोस भनेर प्रयास गर्नेहरुले डर,लोभ,राजनितिक शक्ति तथा विभिन्न तरिका अपनाउने गरेको महिला अधिकारकर्मी रेखा झा बताउछिन ।
बलात्कार हुदा सभ्य चुप लाग्छन र घटना मिलाउनेहरु सकृय ः
बलात्कार वा बलात्कारको प्रयास भएको खण्डमा पिडित आफै हिम्मत गरेर प्हरीकोमा आए मात्र घटना वारे पहल सुरु हुन्छ । कागजी रुपमा सुरु हुने त्यसता पहललाई मलजल गरेर अपराधीलाई कठघारामा पुर्याउने समाजका सभ्य कहलिएकाहरु चुपचाप हेरिमात्र रहन्छन भने घटना मिलाउनेहरु पुर्ण सकृय भई डर,लोभ तथा अन्य उपायका साथ पुर्ण सकृय हुने गरेको विगतको घटनाहरुमा देखिएको राजनितिक र समाजका अगुवाहरुको संलग्नाले देखिएको छ ।
जिल्ला प्रसासन कार्यालय महोत्तरीमा कार्यरत रेखा श्रेष्ठ भन्छिन “म प्रसासन मै कार्यरत भएपनि कार्यालय समय पछि निजी जिवन विताउने वेला महिला माथी हुने गरेको विभिन्न आपराधिक घटनाले मलाई समेत शसंकित बनाएकै हुन्छ । समाजमा स्वतन्त्रता पुर्वक वाच्न पाउने अधिकार पुरुष सरह महिलाको भएपनि पुरुष प्रधान समाजले त्यो स्वतन्त्रता महिलालाई नदिदा वेला वेला महिला बलात्कृत हुने गरेकि हुन । कहिले आफन्त वाटै त कहिले गाउ समाजका वा अन्यत्रका पुरुषहरुले आफ्नो वास्नाको सिकार बनाएर महिला वा वालिकाको जिवन नै ध्वस्त पार्ने गरेकोले सवै मिलेर यस्को प्रतिकार गर्नैपर्ने हुन्छ ।
बलात्कार गर्नेहरुको समेत आमा,छोरी,श्रीमति,बहिनी लगायतको आफन्त तिनै महिला भएकोले आफैले बलात्कार गर्ने वेला ति बलात्कृत हुन लागेको पनि कसैको आमा,छोरी,बहिनी हो भन्ने सोच मस्तिष्कमा राखे सायद बलात्कारको घटना न्युन वा समाप्त नै हुन सक्ने आशा छ ।
सामाजिक संजाल र आधुनिकताले समेत बलात्कारलाई प्रोत्साहन गर्दै ः
सामाजिक संजालको वढ्दो प्रयोगले समेत बलात्कारको घटना वढाएको छ । विभिन्न फेक आई डी बनाएर महिला तथा युवतीलाई आफ्नो पासोमा फसाउने र कुनै स्थानमा वोलाएर वा गएर जवरजस्ती वा विभिन्न प्रलोभन देखाई त्यसता महिला वा युवतीलाई बलात्कार गर्नेहरु समेत सकृय रहेको विभिन्न घटनाक्रमले देखाएको छ ।
साथै वैदेशिक रोजगारमा गएकाहरुको श्रीमतिलाई श्रीमानसंगै नभएको मौका छोपी पनि आफन्त वा अन्यहरुले बलात्कारको सिकार बनाउने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ ।
यस्तो छ कानुनी प्रावधान ः
कानुनमा बलात्कारमा दोषी ठहर भएकाहरुको सजाय पिडिताको उमेर हद अनुसार रहेको जिल्ला न्यायाधिवक्ता सुदिप दंगाल बताउछन । उनी जेल सजायसंगै प्रकृति र मुद्दाको किसिम हेरि पिडितालाई क्षतिपुर्ति समेत दिलाउने गरिएको उहा बताउछन । यता कैद तर्फ १० वर्ष मुनिका वालिकालाई वलात्कार गरिए १० देखि १५ वर्ष जेल सजाय रहेको छ भने १० देखि १४ वर्ष कि वालिका बलात्कृत गरिए ८ देखि १२ वर्षको जेल सजाय हुन सक्ने उहा बताउछन । यता १४ देखि १६ वर्षिया को हकमा अदालतले ६ देखि १० वर्ष जेल सजाय तोक्न सक्ने छ । त्यसतै १६ देखि २० वर्षको उमेर हदमा ५ देखि ८ वर्षसम्म जेल सजाय तोकिन सकिने छ । २० वर्ष वा सो भन्दा माथीको उमेरको हकमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुन सक्ने न्यायाधिवक्ता दंगाल बताउछन ।
यो वाहेक थप सजायमा गर्भवती,अशक्त,अपांग,होस ठेगान नभएको,आफैले पालेको र सामुहिक बलात्कारको मुद्दामा ५ वर्ष थप सजाय हुने प्रावधान छ । साथै एचआईभी संक्रमितको हकमा थप एक वर्ष सजाय हुने व्यवस्था रहेको छ ।
बलात्कारको घटनाहरु महोत्तरी लगायत देशकै अधिकांश शहरमा भईरहदा त्यसले अधिकांशलाई सामाजिक संजालमा समेत लेख्न र वोल्न विवश गरेको छ । ”सै सन्दर्भमा पत्रकार अमृता लम्साल भन्छिन “पीडितको आत्मसम्मान, शारीरिक चोट र मानसिक पीडालाई बारम्वार कुल्चिएर, अझै बढि पीडा पुरÞ्याएर मानसिक, शारीरिक रुपमा ध्वस्त बनाउँदै ‘बलात्कारी’लाई प्रश्रय र अ‘ाट दिने समाजको हिस्सा हुनुपर्दा यो मन आक्रोश र घिनले फुट्ला जस्तो हुन्छ ।” उनको प्रश्न छ “यस्तोमा महिलालेमात्रै किन आवाज उठाउनुपर्ने ?मेरो प्रश्न, हरेक छोरीका बाबुहरुलाई, तपाईँहरुलाई छोरीहरु बलात्कृत भइरहेको पीडाले छुंदैन ?
त्यस्ता पुरुषहरुको बिरुध्दमा एकजुट भएर अन्यायीको बिरुध्दमा सडकमा उत्रन ईच्छा लाग्दैन ?मनको कतै कुनामा तिनीहरुले गरेको अपराधमा नबोलेकोमा शरम महसुस हुंदैन ?आज महिलाहरुको लागि सुरक्षित नभएको समाजमा आफ्नी छोरी कसरी स्वतन्त्र भएर हुर्किएलिन् ? भन्ने पीरले पोल्दैन ?”
जिल्ला न्यायाधिवक्ता दंगाल भन्छन “बलात्कार अति संवेदनशिल विषय हो । यस्ता घटना सामान्य रुपमा प्रकाशमा आउदैन । समाजले समेत यस्ता मुद्दा सार्वजनिक गरेर अपराधीलाई कानुनी कठघरामा ल्याउनु पर्छ भन्ने तर्फ खासै लागेको देखिदैन । खासमा गाउका पन्च वा पावर र पहुच भएका व्यक्तिहरु समेत यस्ता मुद्दा वाहिर ल्याउन सघाउनु भन्दा पनि दवाउन नै प्रयासरत हुने भएकोले समेत पिडित मध्ये अधिकांश न्याय नै पाउन नसकेको पनि छ ।
साथै अत्याधुनिक प्रविधि नभएको र बलात्कृतले समेत तत्कालै सोहि अवस्थामा प्रहरीलाई जानकारी नगराउदा र सवुत प्रमाण अन्जानमै मेटाईदिदा समेत अपराधी उम्कने देखिएको छ । ”
अधिकारकर्मीहरु भन्छन बलात्कारको घटना न्युन गर्न सो घटना पश्चात पाउने सजायको जानकारी व्यापक रुपमा फैलाउनु पर्छ साथै बलात्कृत महिलालाई न्याय दिलाउन हाल लाग्ने गरेको समय भन्दा पनि विशेष वेन्चको माध्यमले छिटो भन्दा छिटो न्याय दिलाउन सक्नु पर्ने हुन्छ । त्यसतै राजनितिक वा सामाजिक पहुचकै भरमा अपराधीको मनोवल बढ्ने गरेकोले राजनितिक दल र समाज समेत यसवारे गम्भिर भएर यस्ता अपराधीलाई लुकाउनु भन्दा पनि कानुनी कठघरामा उभ्याउन सघाउन सके यस्ता घटना न्युन हुनेमा विश्वस्त छन ।-दिपक पाण्डेय