शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

योनीमाथिको अधिकार

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १२, २०७५
0
योनीमाथिको अधिकार
घिमिरे युुुुवराज

तारामण्डलमा विज्ञानको खोज र भौतिक सुविधाको नयाँ आविष्कारले हामीलाई सधैं उत्सुक र विलासी बनाएको छ। विज्ञानले यसतर्फ निरन्तर काम गरिरहेको छ। कहिलेकाहीँ कलाले विज्ञानभन्दा अझै अगाडि बढेर हामीलाई काल्पनिक संसारमा पुर्‍याइदिन्छ। समयलाई छलाङ मारेर साइन्स फिक्सनका रूपमा संसारमा यस्ता धेरै फिल्म बनेका छन्। साहित्य लेखिएका छन्। सन् १९६६ मा बनेको यस्तै रोचक फिल्म हो, ल्यारि बुचानन्को ‘जोन्तार : अ थिड फ्रम भेनस’। त्यसपछि अनगिन्ती यस्ता फिल्म बनेका छन्। सन् २००९ मा बनेको जेम्स क्यामरुनको फिल्म ‘अवतार’ यस्तै रुचिकर फिल्म हो। अमेरिकी लेखिका ओड्री नेफिनेगरको रोचक उपन्यास ‘दी टाइम ट्राभलर्स वाइफ’ (२००३) माथि बनेको फिल्मले (२००९) साँच्चै दर्शकलाई झस्काइरहन्छ। मूल पात्र हेन्री आफ्नै जीवनका भूत र भविष्यमा यात्रा गर्न सक्छ तर परिस्थितिलाई परिवर्तन गर्न सक्दैन।

भारतमै बनेको ‘कोइ मिल गया’ वा ‘रोबोट’जस्ता फिल्म पनि लोकप्रिय साइन्स फिक्सन हुन्। आर बालाकृष्णन्को फिल्म ‘पा’ले पनि प्रोजेरिया नामको रोगलाई लिएर मान्छेको उमेर र बुढ्यौलीमाथि नौलो कल्पनाशीलता प्रस्तुत गरेको छ।

तर, मानवीय सम्बन्धहरूमाथि नयाँ सम्भावना र सामाजिक न्यायमाथि नयाँ सोच बोकेका सिर्जना मैले धेरै हेर्न पाएको छैन। कहिलेकाहीँ कुमार नगरकोटीका फिक्सन क्यारेक्टरले नयाँ सोच्न बाध्य बनाउँछन्। उनीहरू आममानिसभन्दा फरक र जादुमयी क्रियाकलाप गर्छन्। फरक हुलियामा आएका बिल्कुलै फरक परिवेशका चरित्रहरूले एकअर्कामा नयाँ ढंगले सम्बन्ध बनाउँछन् वा बिगार्छन्। काफ्नोको मेटामोर्फोसिस्मा ग्रेगोर साम्साले मान्छेलाई अचम्मको त्रासदीमा पुर्‍याइदिन्छ। होइन भने आमसाहित्यका पात्रहरू उहीखाले जोखिममा र समस्यामा संघर्ष गरिरहेका छन्। किनभने आम रूपमा हामी एउटा निश्चित बक्सभित्र छौं।

जस्तो कि, साउदी अरेबियाबाट ल्याइएकी, मानिससरह नागरिकता पाउने पहिलो रोबोट सोफियाले केही महिनाअघि काठमाडौंका दर्शकको चेतना स्तर नापिन्। आम फिल्मी हिरोइन वा मोडललाई झैं रोबोटलाई पनि बिहेको बारेमा सोध्न भ्याइयो। विज्ञानको यति धेरै आविष्कारपछि पनि हाम्रो समाजले एउटा रोबोटलाई गरेको ‘तिमी कस्तो पुरुषसँग विवाह गर्न चाहन्छ्यौ’ भन्ने प्रश्नले मभित्र धेरै प्रश्न जन्मायो। यहाँका आममानिसको सोच र हाम्रो सांस्कृतिक परिवेशका कारण रोबोट सोफियालाई पनि दर्शकले आमनेपाली युवतीकै रूपमा हेरे, जसले गर्दा त्यही सांस्कृतिक घेराभित्र बसेर प्रश्न गरियो। त्यसो भए विज्ञानको चरम आविष्कारसँगै बनेका रोबोटले मानिसका लागि मानवीय संवेदना र सम्बन्धको नयाँ ढोका खोलिदिन्छन् कि तिनले पनि मान्छेलेझैं व्यवहार गर्न थाल्छन् ? जन्म, मृत्यु, विवाह, सन्तान, धर्म, रंग, जाति, लिंग, यौन वा अन्य सम्बन्धहरूमा विज्ञानको आविष्कारसँगै हामी झन् रुग्ण हुँदैछौं कि विकसित ?

मानौं, काठमाडौंका सडकमा सोफियालाई कुनै पुरुषले जिस्क्याउँदा वा सुसेलेर छिल्लिँदा उनी लजाइन् वा मस्किइन् भने हाम्रो विज्ञान अझै विकसित र सफल भएको मानिनेछ। सायद सोफियाले ती उटपट्याङ प्रश्न गर्ने पुरुषलाई दुई झापड लाएर हिँडिन् भने वा त्यो पुरुषको हातपाउ बाँधेर यौनशोषण गर्न थालिन् भने हाम्रो विज्ञान फेल खानेछ। र, सफ्टवेयरमा गडबडी भएको ठानेर प्रयोगशालामा वैज्ञानिकको सघन मेहनतपछि उनीभित्र आमलजालु हिन्दु चरित्रवान् किशोरीको स्वभाव भरिनेछ। र, यसलाई २१औं शताब्दीको उच्चतम आविष्कार सफल भएको मानिनेछ। त्यसो त साउदी अरेबियाको नागरिक बनेकी सोफियाको अनुहारको रंग नै मान्छेको चेतनामा भएको भेदभावको रंग बोल्छ। तर, यहाँ मेरो चासो मानवीय सम्बन्धहरूमा हो।

आश्चर्य, विज्ञानको चरम आविष्कार मानिएकी सोफियाबाट आममहिला स्वभावको अपेक्षा गरिरहेको केही वर्षअघि नै एउटा रोचक फिल्म बनेको रहेछ, ‘ब्रिडगेट जोनेसस् बेबी’। आजको समयसँग तुलना गर्दा एउटा अन्यन्तै अस्वाभाविक फिल्म, जसले दर्शकलाई धेरै पटक सोच्न बाध्य बनाउँछ।

४३ वर्षे महिला ब्रिडगेटको स्थायी केटा साथी नभएको हुनाले उनी फरकफरक केटासँग डेटिङमा छिन्। आममहिलाले झैं उनकी आमाले उनलाई बच्चा जन्माउन ढिलो हुँदै गएको सुझाउँछिन्। संयोग, एक हप्ताभित्र ब्रिडगेटको दुई पुरुषसँग यौनसम्बन्ध रहन्छ। ऊनी गर्भवती हुन्छिन्। दुईमध्ये कुन पुरुषको गर्भ रहेको हो भन्ने थाहा नभएर उनी तनावमा पर्छिन्। (एउटी महिलाका लागि आफ्नो गर्भमा कुन पुरुषको वीर्य छ भन्ने जान्नु कति महत्वपूर्ण छ, म महसुस गर्न सक्दिनँ। यसमा मेरो आफ्नो धारणा छैन।) अतः त्यसका लागि बच्चा र दुवै पुरुषको डीएनए परीक्षणबाट मात्रै असली बाबु पत्ता लाग्ने हुनाले उनले दुवै पुरुषलाई यो सूचना दिनुपर्ने हुन्छ। गर्भवती महिला दुई पुरुषसम्म पुग्ने र गर्भको बारेमा भन्ने अवस्थासम्मको संघर्ष र चुनौतीहरूले नै दर्शका सामु उत्सुकता पैदा गर्छ। फिल्मको विधा कमेडी हो। मेरा लागि अनौठो कुरा त बुबा यकिन नभएका दुवै पुरुष बच्चा स्वीकार्न तयार छन्। र, महिला र गर्भको बच्चाको स्वास्थ्य परीक्षणको विभिन्न चरणमा दुवै पुरुष सँगै हुन्छन्। यस्तो अवस्थामा पनि दुई पुरुषबीच कुनै खटपटी नदेखिनुले महिलामाथि पुरुषले जमाउन खोज्ने अधिकारको पारम्परिक संस्कारलाई भत्काउँछ।

आजको समाजलाई हेर्दा यस फिल्ममा दुवै पुरुष उच्च आदर्शमा छन्। तर दुई पुरुष, गर्भवती महिला र उनीहरूबीचको सम्बन्धलाई स्वाभाविक देखेर एकैछिन भए पनि दर्शकलाई सम्बन्धमाथि नयाँ दृष्टिकोण दिन्छ। हामी बारम्बार त्यही द्वन्द्व, ईष्र्या, डर वा एकखाले खुसीबाट ग्रसित छौं। सम्बन्धहरूबीच हाम्रो खुसी पनि संकुचित र सीमित छ। यस्ता फिल्मले सम्भावनालाई फराकिलो बनाइदिने रहेछ। बच्चा जन्मिएको केही समयपछिको डीएनए परीक्षणले महिलाले गर्ने निर्णयका लागि बाटो सहज बनाइदिन्छ र फिल्मको अन्त्यमा महिलाले आफ्नो बच्चाको असली बाबुसँगै बस्ने निर्णय गर्छिन्।

वैदिक काल, लोककथा र धार्मिक ग्रन्थमा यस्ता कथा पढ्न पाइन्छन्। महाभारतमै यस्ता कैयौं उदाहरण छन्। कुन्तीले पाँच फरकफरक पुरुषबाट गर्भधारण गरिन्। द्रौपदी पाँच पुरुषकी श्रीमती बनिन्। नेपालकै पश्चिमी हिमाली भेगमा वा तिब्बती समुदायमा पनि बहुपति प्रथा चलनमा थियो भनिन्छ। तर, मूलतः बहुपत्नी प्रथाको वर्चस्व भएको समाजमा ‘पोलीगामी’ सम्बन्धभित्र पनि लैंगिक अस्तित्वको वर्चश्व पुरुषकै अधीनमा थियो भन्ने प्रस्ट छ। किनभने ती सबै सम्बन्ध महिला स्वयंको इच्छामा भएका थिएनन्। संस्कार वा परिस्थितिले उनी धेरै पुरुषलाई श्रीमान्का रूपमा स्वीकार्न बाध्य थिइन्।

कृषियुग सुरु हुनुअघि मान्छे पोलिगामी सम्बन्धमै थियो, जनावरजस्तो। बच्चाको बुवा चिनिँदैनथ्यो। बच्चाको अस्तित्व र अधिकार आमामा निहित थियो। कुखुराका चल्लाजस्तो।

‘पद्मावत’ फिल्ममा भन्सालीले महिलाप्रतिको आफ्नो सोच देखाउन करोडौं खर्च गर्नुपर्‍यो। अलाउद्दिन खिलजीको कब्जामा जानुभन्दा आत्मदाह गर्नु ठीक भन्ने अवधारणा फिल्मले देखाउँछ। र, पद्मावतीको इज्जत र महानतालाई उनको योनीमा जम्मा पारिएको छ।

भौतिकशास्त्री र मानवसभ्यताका ज्ञाताको व्याख्याअनुसार वैवाहिक संस्था सम्पत्तिको एकाधिकार स्थापित गर्नका लागि सिर्जना भएको मानिन्छ। तर, पूर्वीय देशहरूमा खासगरी आजको हिन्दु, मुस्लिम र बौद्ध समाजमा विवाह महिलामाथिको एकाधिकार बलियो बनाउन निर्माण भइरहेजस्तो देखिन्छ। पश्चिमा समाजमा वैवाहिक संस्था विस्तारै भत्किँदै जाँदैछ। पारम्परिक वैवाहिक संस्था बलियो हुनु वा कमजोर हुनुका फाइदा–बेफाइदाको बहस अर्को ठूलो विषय हो। तर, म बाँचेको समाजमा विवाह मूलतः पुरुषले महिलाको योनीमाथि राख्ने अधिकारका रूपमा स्थापित हुँदै जाँदैछ। मैले ‘ब्रिडगेट जोनेसस् बेबी’ फिल्मले देखाएको अवस्था हाम्रो समाजमा आउला भन्ने कल्पना गर्न सक्दिनँ।

दुई पुरुषबीच कसको गर्भ हो भन्ने प्रश्न उठिरहेको बेला उनीहरूले ब्रिडगेटमाथि कथित नैतिक प्रश्न नगर्नु र आम मानिसलेझैं अर्को पुरुषलाई आरोपित नगर्नु लैंगिक सम्बन्धको नयाँ क्षितिज हो। त्यस्तो सम्बन्ध त यौनमा खुला मानिएका पश्चिमी र उत्तरी ध्रुवका समाजमा पनि होला भन्ने कल्पना गर्न सक्दिनँ। तर, श्रीमतीको भूपू श्रीमान् वा श्रीमान्की भूपू श्रीमतीसँग सँगै डिनर गर्ने वातावरणमा उनीहरू पुगे। मेरो सोच पश्चिमी समाजले निर्माण गरेको सम्बन्धको संस्कारलाई हामीले पछ्याउनुपर्छ भन्ने होइन। तर, साहित्य, कला र संस्कृतिमा पश्चिमी र उत्तरीहरूको दबदबालाई हामीले स्वीकारिसकेको अवस्था छ। सबैखाले बजारको संस्कार हामीलाई उतैको प्रिय लाग्न थालेको छ। यस्तो अवस्थामा लैंगिक सम्बन्धको संरचना कुन बाटोमा जाने वा सबै लिंगबीच समानताको स्थापना कसरी गर्ने भन्ने हाम्रो आफ्नो सोच गौण छ ? यो आज हामी बाँचिरहेको समाजको ठूलो चुनौती हो।

हामीकहाँ लैंगिक समानताको कुरा फाट्टफुट्ट उठिरहेको छ। मेरो चासो कला, साहित्यमा अहिलेको लैंगिक अवधारणाको सम्बन्ध कस्तो छ भन्ने हो। हामीले चाहेको वा आदर्श समाजलाई प्रेरित गर्ने तत्वलाई कलाले उत्प्रेरकको भूमिका खेल्न सक्छ। आजको समयमा हामीले सिर्जना गरिरहेको कला र साहित्यले यथास्थिति र विभेदको डरलाग्दो स्थितिका विरुद्धमा कसरी काम गर्न सक्छ भन्ने प्रयास हो। तर, एकथरी सर्जकहरू त्यो जिम्मेवारीबाट धेरै टाढा छन्। संसारभरि नै एकथरी सर्जकहरू नयाँ विचार दिनेभन्दा पनि यथास्थितिलाई आफ्नो काममा उतार्छन्। त्यसो त हरेक सर्जकको आडम्बर र अन्धविश्वास आफ्नो सिर्जनामा मिसिएर पनि आउँछ। लैंगिक सोचको कुरा पनि यही हो।

एउटा सर्जक आफ्नो दैनिक जीवनमा जस्तो लैंगिक अभ्यासमा छ, त्यही किसिमको सोंच उसको काममा आउने हो। श्रीमान्लाई ईश्वर वा अधिपति ठान्ने महिला चित्रकारको पेन्टिङमा उनको त्यही सोच प्रत्यक्ष वा परोक्ष रूपमा व्यक्त भइरहेको हुन्छ। श्रीमान्लाई जीवनसाथीका रूपमा लिने महिलाको पेन्टिङ पनि त्यसरी नै प्रभावित भइरहको हुन्छ। यो एउटा उदाहरण हो। पुरुषको कुरा पनि त्यही हो। वा तेस्रो लिंगीको सिर्जनाको स्रोत पनि उसको जीवन नै हो। सर्जकको सिर्जना र उसको निजी जीवनलाई वैचारिक रूपमा अलग्याएर हेर्न सकिन्छ जस्तो मलाई लाग्दैन। धर्म, जाति, रंग र वर्णको कुरा पनि यही हो।

कहिलेकाहीँ एउटा सर्जकले आफ्नो अन्धविश्वासलाई अभिव्यक्त गर्न धेरै ठूलो मूल्य चुकाउनुपर्छ। नत्र सामान्य अवस्थामा उसको असली रूप नदेखिन सक्छ। हरेक मानिस आफ्नो उच्च आदर्शको छवि देखाउन अनेकौं प्रयत्न गरिरहेको हुन्छ। विशेष परिस्थितिमा ऊ उदांगिन्छ। जस्तो कि ‘पद्मावत’ फिल्ममा भारतीय फिल्म निर्देशक सञ्जय भन्सालीले महिलाप्रतिको आफ्नो सोच देखाउन करोडौं खर्च गर्नु पर्‍यो। मलाई लाग्छ, उनको यो सोचले पनि महिलाको योनीमाथि पुरुषहरूको अधिकारलाई प्रस्ट्याएको छ। आफूले नचाएको पुरुष अलाउद्दिन खिलजीको कब्जामा जानुभन्दा आत्मदाह गर्नु ठीक भन्ने अवधारणा फिल्मले देखाउँछ।

र, पद्मावती र उनका हजारौं अनुयायीको इज्जत र महानतालाई उनको योनीमा जम्मा पारिएको छ। यहाँनेर म भारतीय महिला अधिकारकर्मी कमला भासिनलाई सम्झन्छु। उनी भन्छिन्, ‘लिंगले प्लेन उडाउने वा गाडी चलाउने त होइन तर महिलालाई त्यसखाले काम गर्न बर्जित गरिएको छ। ऊसँग योनी भएकै कारण उसलाई कमजोर बनाइन्छ, जब कि त्यसमा योनी वा लिंगको कुनै भूमिका रहँदैन।’ त्यसैले पद्मावतको सारा मारधाडलाई एउटा दृश्यमा कैद गर्दा अलाउद्दिन निकै परबाट हजारौं सेनासहित आत्तिँदै कुद्दै आइरहेको छ, पद्मावतीको योनी आगोमा दनदनी बलिरहेको छ। यो पूरै फिल्मलाई योनी द्वन्द्वभन्दा पनि केही फरक पर्दैन।

कृषि युगसँगै सम्पत्ति र शक्ति सञ्चयको होडमा पुरुषहरू लागे। यही होडमा मौलाएको बहुविवाह आजको समयसम्म आइपुग्दा त्यही रूपमा वा पोलिगामी सम्बन्धहरू यौन विलासितामा परिणत भयो।

आजको नेपाली समाजमा पुरुषको पोलिगामी सम्बन्ध वैध छ। अझ यसलाई पुरुषार्थ वा बहादुरीका रूपमा लिइन्छ। तर, महिलाका लागि यो अनैतिक छ। त्यसै भएर आज पनि आमनेपाली युवा विवाहका लागि ‘भर्जिन’ युवतीको खोजीमा छ। उसका लागि एक जमानामा प्रेममा परेकी केटी पनि ‘चरित्रहीन’ हो। यहाँ प्रेमको पर्याय योनी नै हो। अझ अचेल त दसौं वर्ष विदेश बसेर आएको पुरुष बुबाआमा र आफन्तलाई केटी खोज्न लाएर बिहे गर्न घर फर्कन्छ। उसको भ्रम, उसले कहिल्यै नदेखेकी कुनै गाउँकी केटीचाहिँ पक्कै ‘भर्जिन’ हो। केटीमाथि केटा वा केटाका बाबुआमाका अनेकौं सर्त हुन्छन् तर ती सर्तको मूल जरो योनीमाथिको अधिकार नै हो। केटीको शिलस्वभावदेखि सुरु भए पनि वा केटाको तलब र भिसादेखि सुरु भए पनि मूलतः केटाको लिंगले शक्ति र हैकम बोक्छ र केटीको योनीले परिवारको इज्जत र सारा महिलाको नैतिकता थामिदिन्छे। यही लैंगिक विभेदलाई सहन नसकेर कति महिलाहरू लेस्बियन अभ्यासमा गएका उदाहरण छन्, जहाँ लिंगले गर्ने हैकम समाप्त हुन्छ।

अचेल हामीकहाँ पनि मध्यम र उच्चमध्यम वर्गीय युवतीमा यौन र सम्बन्धको अभ्यास खुला र स्वतन्त्र भएजस्तो देखिन्छ। तर, एउटा निश्चित उमेरपछि फेरि पुरुष प्रभुत्वभित्र कैद भइरहेको छ। आधुनिक र स्वतन्त्र मानिएका महिलाले पनि आफ्नो शरीरमाथि पूर्ण स्वामित्व राख्न सकिरहेको अवस्था छैन। किनभने उसको नजिक आउने पुरुष केवल शरीर भोगको भाषा मात्रै जान्दछ। आजको नेपाली समाजमा जतिसुकै आधुनिक मानिएकी युवती वा महिलाले रूढिग्रस्त पुरुष साथीबाट सहअस्तित्व पाउन निकै जटिल छ। धेरैजसो अवस्थामा युवतीको स्वतन्त्र स्वभाव पुरुषको भोग वा मनोरञ्जनको अवसर मात्रै बनिदिन्छ।

केटीको शिलस्वभावदेखि सुरु भए पनि वा केटाको तलब र भिजादेखि सुरु भए पनि मूलतः केटाको लिंगले शक्ति र हैकम बोक्छ र केटीको योनीले परिवारको इज्जत र सारा महिलाको नैतिकता थामिदिन्छे।

सोसियल मिडिया र पत्रपत्रिकामा एकताका नेपाली फिल्म ‘छक्कापन्जा’ र ‘छ एकान छ’ले महिलामाथि गरेको व्यंग्यमाथि निकै ठूलो बहस भयो। ‘छ एकान छ’मा एउटी युवतीको पछि ६ पुरुष कुदेका छन्। र, आम नेपाली र भारतीय फिल्मको चरित्र पनि यही हो। अर्को फिल्म ‘छक्कापञ्जा’ले बिदेसिएका पुरुषका श्रीमतीबारे जसरी दृश्यहरू पोट्रेट गरेको छ, आमनेपालीको सोचाइ पनि त्यही हो। तीनचार वर्षदेखि बिदेसिएको पुरुषकी श्रीमतीको सारा चाहना, उसको एक्लोपना वा मानवीय रूपमा उसका अन्य आवश्यकतालाई केवल यौनसँग जोडिन्छ। र, आमपुरुषको धारणा त्यो एक्ली महिलाको योनीमाथि हुन्छ। ऊ जति आधुनिक र खुल्ला विचारकी होस्, तर पनि ऊ शोषित हुन पुग्छे। किनभने पुरुषको ठूलो जमात उसलाई भोग मात्रै गर्न चाहन्छ।

अर्को उदाहरण। पछिल्लो समय मैले हेरेको हिन्दी फिल्म ‘जब ह्यारी मिट्स् सेजल’ साउथ एसियाका पुरुषको मानसिकता बुझ्ने गजबको फिल्म हो। फिल्म महा झुर छ। महा झुर फिल्मले आममानिसको सोच बुझ्न झन् मद्दत गर्छन् भन्ने मलाई लाग्छ। नेदरल्यान्डको परिवेशमा कथा बुनिएको फिल्मको एउटा उपकथा, जहाँ भारतीय युवक ह्यारीले स्थानीय युवतीसँग यौनका लागि मात्रै सम्बन्ध बनाएको र पछि भागेको देखाइएको छ। डच युवतीसँग अचानक ह्यारीको भेट हुन्छ र युवतीले ह्यारीलाई दोषी देखाउँछे। ह्यारीसँगै भएकी भारतीय युवती सेजेलले त्यो केटीलाई २० युरो क्षतिपूर्ति दिएर भारतीय ह्यारीको झमेला मिलाइदिन्छे।

भारतीय फिल्मकर्मीहरू आफ्नो धरातलबाट कोसौं टाढा पुगेर पनि आफ्नो सोचको सिकार भए। आम्सटरडमकी केटी कुनै भारतीय केटाले प्रेममा धोका दिएपछि त्यही केटालाई वर्षौंसम्म खोज्दै हिँड्दी हो ? अनि विवाहअघि यौनसम्बन्ध राख्न नचाहने एउटी भारतीय केटीले त्यो आम्स्केटीलाई सम्झाउने क्षमता राख्दी हो ? आम भारतीय फिल्मकर्मी वा पुरुषको सोचको प्रतिविम्ब यो एउटा फिल्मले बोलेको छ। अरू त यस्तै, अनगिन्ती फिल्म हरेक वर्ष आउँछन्। त्यसैले पनि भारत वा नेपालमा हरेक वर्ष बन्ने दर्जनौं झुर फिल्महरू हाम्रो समाजका प्रतिविम्ब हुन्। समाजको असली सोच र धरातल बुझ्न ती झुर फिल्महरूले महान् काम गरेका छन्।

किन हाम्रा सिनेमा वा साहित्यहरूमा सेक्सका लागि केटा नै केटीको पछि कुदिरहेको हुन्छ ? हरेक संकटमा केटीको लागि केटा सहारा छ। सारा उछलकुद र चमत्कार केटाले गर्छ। केटी केवल शृंगार गरेर मुस्कुराउँछे। कथित नायकलाई खुसी पार्न ऊ आफ्नो शरीरलाई एक्सपोज गर्छे। यो हाम्रो समाजको प्रतिविम्ब हो। आज पनि हाम्रो समाजले केटीलाई यौनेच्छा प्रकट गर्न बर्जित गरेको छ।

पुरुषलाई झैं महिलालाई पनि सेक्स गर्न मन लाग्छ। यौन सन्तुष्टि ‘सम्भोग’ हो भन्ने कुरा आमजनजीवनमा स्थापित भएकै छैन। र, अझै पुरुष महिलाको सम्पूर्ण इच्छामा खासगरी यौनमा पूर्ण रूपमा अधिकार जमाएर बसको छ। आजको मूलधारको सिनेमा, नाटक, गीतसंगीत, साहित्य वा भनौं अरू कलाका माध्यमका सर्जकहरू त्यही अवधारणाका प्रतिनिधि हुन्। त्यही भीडका प्रतिविम्ब हुन्। त्यही भएर पनि ती उत्पादन त्यही भीडमा लोकप्रिय छन्।

अधिकांश हास्य टेलिचित्रहरूका आदर्श महिला पात्र गुन्यूचोलोमा छन्। र, आधुनिक पहिरनका युवतीहरू देखिनेबित्तिकै नेपथ्यमा टुडुङ–टुडुङ संगीत बज्न थालिहाल्छ। अनि पुरुषहरू युवतीका यौन अंगतिर आँखा घुमाउन थालिहाल्छन्। त्यसैगरी पत्रिका तथा टेलिभिजन विज्ञापनहरूमा यौन नै केन्द्रमा छ। त्यसमा पनि योनीमाथिको अधिकारका लागि पुरुष बारम्बार पहल गरिरहन्छ। आज मूलधारका सिर्जनाले स्थापना गर्न खोजेको मनोरञ्जन, योनी मनोरञ्जन हो।

यतिखेर महिलाहरू अनेकौं संघर्ष गरेर सहअस्तित्व, सहकार्य र स्वतन्त्रताको लागि लडाइँ लडिरहेका छन्। यस्तो अवस्थामा युवावर्ग जति यौनमा खुलेर आएको छ, त्यहाँ पनि यथास्थितिले जकडिएको पुरानो समाज पनि सँगै अस्तित्वमा भएको हुनाले महिला वा युवतीहरू नै मारमा छन्। पुरुष यौन–मनोरञ्जनमा छ।

म केही वर्षदेखि नियमित रूपमा ‘भजाइना मोनोलग्स्’ नामक कथा–वाचन हेरिरहेको छु। संसारमै जुझारु महिलाले चलाएको यो अभियानले नेपाली महिलालाई पनि आफ्नो अधिकार र अस्तित्वका बारेमा खुलेर कुरा गर्ने एउटा अवसर दिएको छ। तर, डरलाग्दो कुरा के हो भने मध्यम र उच्च मध्यमवर्गीय पुरुष (जो पाँच सय र हजार रुपैयाँको टिकट काट्न सक्षम छ) योनीका कथाहरू हेरेर भरपुूर मनोरञ्जन लिन्छ। तर, आफ्ना सोचमा परिवर्तन गर्दैन। यस्तो लाग्छ, उसको लागि पोर्न फिल्म हेर्नुजस्तै हो ‘भजाइना मोनोलग्स्’ हेर्नु। एउटी आधुनिक सहर सुन्दरीले आफ्नो योनीको बारेमा अनेकौं हाउभाउमा कुरा गरेको हेर्न आउने सम्पन्न पुरुष त्यहाँ मनोरञ्जनबाहेक केही देख्दैन। त्यो दर्शकको खित्का र हाँसो आममहिलाको अपमान नै हो।

सयौं वर्षदेखिको पुरुष सोचकै कारण हो, महिला अधिकारकर्मीले उठाएका हरेक सवालमा उसको आपत्ति छ। कि खित्का छाडेर हाँस्छ कि विरोध गर्छ। तर, शालीन भएर सुन्न सक्दैन।

पचासौं वर्ष भयो, भारतीय सिनेमाले रेप सिनलाई ग्ल्यामराइन्ड गरेको। र, नेपाली फिल्मले सिको गरेको। बलिउड फिल्मले बलात्कारको दृश्यलाई जसरी देखाउँछ नि, त्यसले आमयुवालाई बलात्कार गर्न कहिल्यै निरुत्साहित गर्दैन। त्यसैले योनी मनोरञ्जन, महिलामाथि अझै लामो समय अधिकार जमाउने डरलाग्दो शैली हो। यस किसिमको उत्पादनमा काम गरिरहेको ठूलो भीडले यो कुरा महसुस नै गर्दैन। फिंकजस्तो फिल्म खेलेका अमिताभ बच्चन जत्तिको कलाकारलाई लाग्छ, ‘फिल्ममा देखाइएको मारधाड र हिंसाले केटाकेटी र युवाहरूलाई असर पार्दैन। यो त केवल मनोरञ्जन हो।’ उनले बीबीसीसँगको एउटा अन्तर्वार्तामा यो कुरा भनेका छन्। त्यसैगरी आमभारतीय वा नेपाली फिल्मकर्मीले महिलालाई फिल्ममा जसरी प्रस्तुत गर्छन्, आमजीवनमा त्यसको प्रभावका बारेमा उनीहरूले कहिल्यै सोचविचार गरेनन्। आमबजारले उनीहरूलाई झन् त्यस्तै सामग्री उत्पादन गर्न उत्प्रेरित गरिरह्यो। एक हिसाबले यस्ता सिर्जना आमसमाजको प्रतिविम्ब नै हुन्। यिनीहरूबाट धेरै आश गर्नसक्ने अवस्था छैन, जसले यथास्थितिलाई प्रतिविम्बित गरिरहेका छन्।

कति समीक्षक र सर्जक इतिहासलाई विश्लेषण गरेर पनि लैंगिक असमानताको प्रश्न उठाइरहेका छन्। यस हिसाबले भानुभक्त, पृथ्वीनारायण शाह वा गान्धी पनि विवादमा छन्। आजको चस्माले हेर्दा इतिहासका धेरै पात्र अपराधी प्रमाणित हुने स्थिति छ। तर, मेरो चासो के भने इतिहासमाथि प्रश्न उठाउने हामीहरू आफैंचाहिँ कस्तो परिवेशमा बाँचिरहेका छौं ? हामीले कस्तो परिवेश निर्माण गरिरहेका छौं ? हामी बाँचिरहेको समयलाई भविष्यमा आउने पुस्ताले कसरी व्याख्या गर्छ होला ? आज इतिहासका पात्रहरूमाथि प्रश्न गर्ने पुरुष वा महिलाले आफ्नैचाहिँ कस्तो परिवेश निर्माण गरिरहेको छ ? आफैंलाई सच्याउने समय हो यो।- अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
राजनीति

कांग्रेस : मोही माग्ने ढुंग्रो लुकाउने

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ
प्रदेश

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

रेल आयो, रेल आयो फुस्सा!

नेपाललाई नयाँ राजनीतिक संक्रमणमा धकेल्ने प्रयाश
राजनीति

नेपाललाई नयाँ राजनीतिक संक्रमणमा धकेल्ने प्रयाश

सन्दर्भ : संसद विघटन संगै संविधानत: प्रधानमन्त्री बर्खास्त हुन सक्ने
राजनीति

सन्दर्भ : संसद विघटन संगै संविधानत: प्रधानमन्त्री बर्खास्त हुन सक्ने

Next Post
बलात्कारको डरलाग्दो रुपमा बढ्दै छ तथ्यांक

बलात्कारको डरलाग्दो रुपमा बढ्दै छ तथ्यांक

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist