जनकपुरधाम,वैशाख ८ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएका छन् । आउँदो मे ११ अर्थात यही वैशाख २८ गते हुने नेपाल भ्रमणको क्रममा मोदी धार्मिक स्थल जनकपुर भ्रमण गर्ने तय भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । तर नयाँ संविधान जारी भएर चुनाव भइ फेरिएको राजनीतिक परिवेशमा हुन लागेको मोदीको पहिलो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
केही हप्ताअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यहि बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओली गएको चैत २३ देखि २५ सम्म भारतमा थिए ।
यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन । पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने देखिएको छ ।-शिस