१ वैशाख २०७५
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ ।
नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लीले मुम्बई इण्डियन्समाथि ७ विकेटको रोमाञ्चक जित निकालेको हो । यद्यपि सन्दिपले तीन वटै खेलमा मौका पाएका छैनन् ।
मुम्बईको यो तेस्रो हार हो ।
१९५ रनको लक्ष्य पछ्याएको दिल्लीलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । मुम्बईले मुस्तिफिजुर रहमानलाई बल दियो । पहिलो बलमा जेसन रोयले चैका हाने भने दोस्रो बलमा छक्का हान्दै स्कोर बराबरी गरे । दिल्लीले खेल जितेको मानिएको थियो । तर, त्यसपछि लगातार तीन बलमा रहमानले रन दिएनन् र अब जितका लागि दिल्लीलाई अन्तिम बलमा रन बनाउनै पर्ने भयो ।
रोयले कभरको क्षेत्रमा बललाई पठाउँदै जित निकाले । ५३ बलको सामना गरेका उनले अविजित ९१ रन बनाए । रिशब पन्तले ४७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले उत्कृष्ट सुरुवात गरेको थियो । सूर्यकुमार यादव र एभिन लुइसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरे ।
तर, यो साझेदारी टुटेपछि मुम्बई केही दबावमा आयो । यादव ५३ र लुइस ४८ रनमा आउट भए ।
इशान किसनले आक्रामक पारी खेल्दै इनिङ उकासे । उनले २३ बलमा ४४ रन बनाएका थिए । उसले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनायो ।-एजेन्सी