विनोद महतो । ।
ढल्केवर, चैत्र ३० ।।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवमा महिलाहरुको लागि तीन महिने सिलाई कटाई र बालबालिकाहरुको लागि एक महिने कम्प्यूटर तालिमको शुक्रवार उद्घाटन गरिएको छ ।
क्लवका अध्यक्ष अरुण कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाको उप मेयर तारा लामा बस्नेतको प्रमुख आतिथ्यमा उक्त दुवै तालिम उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि उप-मेयर बस्नेतले मैनवती बालेर दुवै तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उप मेयर बस्नेतले महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगर पालिकाले व्यवस्था गरेको बताउनुभयो । सीप सिकेर आफैमा महिलालाई आत्मनिर्भर बन्नुपर्ने बताउँदै उपमेयर बस्नेतले महिलाहरुलाई लगनशील भएर तालिम लिन र व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।
सो अवसरमा मिथिला नगरपालिका वडा नं.२ का वडा अध्यक्ष विहारी महतो, वडा सदस्य सावित्री देवी महतो, दलित वडा सदस्य कौशल्या महरा, रामदेव महतो, किशोरी पासवान, रामचन्द्र महतोले लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रमको संचालन क्लवका शिवकुमार सिंहले गर्नुभएको थियो । हिमालय युवा क्लवको आयोजनामा तथा मिथिला नगरपालिकाको आर्थिक सहयोगमा उक्त दुवै सीप मूलक तालिम संचालन गरिएको छ । महिलाहरुको लागि सिलाई कटाई तालिममा २० जना महिला र बालबालिकाहरुको लागि कम्प्यूटर तालिममा ३० जना सहभागी प्रशिक्षार्थीहरु रहेको क्लवले जनाएको छ ।