
महेन्द्रनगर(धनुषा), ३०गते चैत्र
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नव वर्ष २०७५ को सुरुवात संगै नेपाली जनताले दुई कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमाले बीच एकिकरण भएको सुखद समाचार सुन्न पाउने बताउनुभएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित नेकपा एमालेको नगर कमिटिले महेन्द्रनगरमा शुक्रवार आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री महासेठले बैशाख ९ गते नेकपा एमाले र माओवादी बीचको एकिकरण हुने निश्चित भइसकेको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएको मन्त्री महासेठले कम्युनिस्ट नेता लेनिनको जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयोजन समितिलाई बुझाइसकेको छ। दुई पार्टी एकिकरणका लागि लगभग तयारी पूरा भएको छ ।
मन्त्री महासेठले बढिमा ६ महिना भित्रै जयनगर–जनकपुर–बर्दिवास –सिमरा सम्म रेल कुद्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढिमा अबको ६ महिना भित्रै निश्चित दुरीमा रेल कुदाउँछौं, अहिले द्रुत गतिले काम भैरहेको छ, दुई वर्ष भित्र त हामी रेलमार्गको लागि धेरै काम गरिसकेका हुनेछौं, यो सरकारको चाहना पनि हो, जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनी सम्म पु¥याउँछौं, त्यसैगरि काठमाडौंबाट विरगंज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायात मार्फत पनि हाम्रो मित्रता बढाउन विरगंज–काठमाडौं जोड्ने सोच बनाएका छौं, अरु त डिपिआर भएर काम नै सुरुवात भैसकेको छ।’
मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधिन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘यो राजमार्गको लागि हामीले ६ खण्ड छुट्टयाएका थियौं, त्यसमध्ये एक खण्डको काम करिब–करिब सम्पन्न भैसकेको छ, ७० कि.मि.को एउटै सेक्टरमा त करिब पीच नै भैसकेको छ, १५१ पुलमध्ये ५२ वटा पुल पूर्ण रुपमा बनिसकेको छ, ६० पुल पूर्ण हुने चरणमा छन्, बाँकी रहेका पुलहरु निर्माणको लागि डिजाईनको अन्तिम–अन्तिम फेजमा छन्।’
मन्त्री महासेठको कथन थियो, ‘यो पाँच वर्ष भित्रमा यो सरकारले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ÷टोललाई जोड्ने प्रयास गर्नेछ ।’
धनुषा निर्वाचन क्षेत्र नम्बर ४बाट निर्वाचीत साँसद रहेका मन्त्री महासेठले क्षीरेश्वरनाथ वडा नम्बर ५ महेन्द्रनगरमा भोट माग्ने बेला भेट्नु भएको ९५ वर्षीया वृद्धा सुमित्रा देवी झालाई आफू चुनाव जिते भेट्न आउने गरेको वाचा पुरा गर्नुहुँदै उहाँले कार्यक्रममा जेष्ठ नागरीक झालाई दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो ।

मन्त्री महासेठले स्थानीय यस क्षेत्रको विकासको लागि आफूले निकै सोचेको बताउनु हुँदै क्षीरेश्वरनाथ नगरपालिकाको वरिपरी २९ किलोमिटरको रिंग रोड, महेन्द्रनगर सखुवा चोक देखि देश कै ठूलो पशु हाटको रुपमा चिनिएको सखुवा बजार सम्मको सडक कालोपत्रे गर्ने प्रतिद्धता समेत व्यक्त गर्नुभयो । -शिस