राजकरण महतो । बर्दिबास
मुसहर जातिको सबै भन्दा लोकप्रिय तरकारीको परिकार हो, घोंगी । पोखरी, खाल्टा खुल्टीमा जमेको पानी, खोलाको दहको पानी मुनि घोंगी पाइन्छ ।
तराई मधेशको दलित समुदायका मुसहर जातिले महिनाको तीस दिनमा १५ दिन घोंगीको तरकारीसंग साँझ बिहानको खाना खान्छन् । गोजी खाली किन नहोस्, घरमा चालम सकिएको होस्, सरसाप्टी, उधारोमा भएपनि घोंगी खरिद गर्न रकम जुटाउने परम्परा रहेको एकिकृत नमुना मुसहर बस्ती बर्दिबास महोत्तरीकी ३५ बर्षीया सुर्जी ऋदेव(मुसहर)ले बताइन् ।
बस्ती ६० बर्षीय मोहनी मुसहरले सातामा तीन चार छाँक घोंगीको झोलसंग भात खाइएन भने दिन पहाड जस्तै लागेको बताइन् । घोंगीलाई मोहनीले ‘रामदुलारी’भनेर संज्ञा दिइन् । निकै मेहन्त र प्रेमपूर्व तरकारी बनाउनु पर्ने भएकोले घोंगीलाई‘रामदुलारी’पनि भन्छन् ।
घोंगीलाई उनले अर्को उपनाम‘भौंउ चम्की’ दिइन् । घोंगीको तरकारी बनाउन धेरै मेहनत र स्वादिलो मसला चाहिले भएकोले घोगीलाई उनले ‘रामदुलारी’ भनिन् । खोस्टा भित्र घोंगीको मासु हुन्छ । घोगीको झोलसंग भात खाने र घोंगी भित्रको मासु चुसेर खानु पर्ने हुन्छ । घोंगीको खोस्टा भित्र झोल पस्न पाए त्यस भित्रको मासुको स्वाद चाख्न सजिलो हुन्छ । घोंगी चुस्दा आँखीभौं झिम्मझिम्म हुनेभएकोले घोंगीलाई मुसहर जातीहरुले‘भौंउ चम्की’पनि भन्छन् ।
घोंगी तयार गर्ने तरीका
घोंगी पानी भित्रको माटोमा पाइन्छ । त्यसैले घोंगीमा लेउ लागेको हुन्छ । घोंगीलाई पकाउनु अघि पानीमा म्याम —म्याम पारेर धुनु पर्ने हुन्छ । त्यसपछी घोंगीमा लागेको लेउ रगडेर सफा हुने गरि पखाल्नु पर्छ । घोंगी ताजाताजी खाने हो भने तातोपानीमा उमाल्नु पर्छ,घोंगीले खाएको माटोहरु सफा गर्न ।
यदि आजको घोंगी भोलि खाने हो भने आरीमा पानी राखेर घोंगीलाई रातभरी राख्नु पर्छ । त्यसपछी घोंगीको खिप्पी निकाल्नु पर्छ र पुच्छर काट्नु पर्छ । पुच्छर र खिप्पी काटेपछी मसला र त्यसको झोल घोंगीको खोस्टो भित्र पसेपछी मज्जाले पाक्न पाउँछ ।
घोंगीलाई चाहिने समाग्रीहरु
घोंगीको तरकारी खानलाई मेहन्तसंगै स्वादिष्ट मसलाहरु पनि चाहिन्छ । मज्जाको घोंगी स्वाद लिन नुन, तेल, प्याज लसुन, सरसो, जिरा,मरिच, अदुवा, खुर्सानी, पाँचफोरण, तेजपता आवश्यक पर्छ । घोंगीको थप स्वाद लिन चाहनेहरुले आफ्नो रुची अनुसार, उसिनेको आलु, पिसेको आलसको धुलो, धनियाको हरियो पात चाहिन्छ ।
घोंगीको मसला
लसुन, सरसो, जिरा, मरिच, अदुवा, खुर्सानी सिलोटामा राखेर पिध्ने । करीब १५—२० मिनेट मसला मसिनो गरि पिध्ने । पिधेपछी एउटा बच्चामा मसला सिलोटाबाट उठाएर राख्ने । सिलोटालाई शुद्ध पानीले धुने । सिलोटा धुएको पानी एउटा कचौडामा जम्मा गर्ने । प्याज, उसिनेको आलु, टमाटर, धनियाँको हरियो पात काट्ने, आलसको धुलो चुलो नजिकै तयारी अवस्थामा राख्ने ।
घोंगी पकाउने तरिका
चुलोमा कराही हाल्ने । कराही तातेपछी खाने शुद्ध तोरीको तेल कराहीमा हाल्ने । तेल मज्जाले तातेपछी पाँचफोरण र सुकेको खुर्सानी चिमोटेर हाल्ने । भुट्ने । धेरै खुर्सानी हाले पिरो भएर घोंगी चुस्ने बेलामा भोट पोल्न सक्छ । एक केजी घोंगी पकाउदा दुई वटा सुकेको खुर्सानी मात्र हाल्नु पर्छ ।
खुर्सानी र पाँचफोरण रातो हुन लागेपछी काटेको प्याज हाल्ने । प्याज राम्रोसंग भुटेपछी तरकारी बनाउन तयार गरिएको घोंगी कराहीमा हल्ने । र चलाउने । ५—१० मिनेट भुटेपछी मसाला हालेर भुट्नु पर्ने हुन्छ ।
घोंगीलाई चहिने मात्रमा भुट्ने । धेरै भुटे खाने बेलामा चुस्न ग्राहो हुन्छ । घोंंगी भुट्ने समयमा धेरै भुटिन्छ की भनेर ख्याल गर्ने । भुटेपछी सिलौटामा मसाल पिंधेर सिलौटा धोएर काचौंरामा राखिएको पानी कराहीमा हाल्ने । एक छिन पानी हालेर घोंगीलाई चलाउने । त्यसपछी परिवारको सदस्यको संख्या हेरेर झोलको लागि पानी हाल्ने । घोंगीको थप स्वाद लिन चाहनेहरुले पानी हालेसंगै टमाटरको टुक्रा, धनीको पात, उसिनेको आलु हालेर भक भक उमालने । एक छिन पछि घोंगी खान तयार हुन्छ ।
खानु अघि देवतालाई
मुसहर जातिका परमवीर, विशारा, दिनाभद्री, भुइयामहराज, विशम्भर कुलदेवता मान्ने मुसहरहरुले घोंगी पकाएपछी खानु अघि भगवानलाई घोंगी र भातको भोग लगाउने गर्दछन् ।
घोंगीलाई चुम्बन
मुसहर समुदायले घोंगीलाई आफ्नो पुर्खौंली परिकारको रुपमा खान्छन् ।। घोंगीसंग भात खाँदा एक गाँस भात र दुई वटा घोंगी चुस्ने गरिएको बर्दिबासकी मानकी मुसहरले बताइन् । छोराछोरीलाई आमाले एक दुई पटक गालामा चुम्बन गरेपछी बच्चाहरु भयो भयो भन्न थाल्छन् । तर घोंगीसंग भात खाँदा पेट नअघाएसम्म घोंगीलाई ओटले चुम्न गरिराख्नु पर्छ , मानकीले भनिन् ।
घोंगी हराउँदै
चुरे फडानी, दोहनले सार्वजनिक पोखरी, कुलो, दह सुक्न थालेपछी घोंगी उत्पादनमा कमी आएको मुसहरहरु बताउँछन् । पछिल्लोसमय घोंगीको फाइदा र स्वाद चाखेपछी अन्य जातजाती पनि घोंगीकोे तरकारी खान थालेका छन् ।
घोंगी पानी भित्रको एक आंग्रेनीक तरकारीको परिकार भएकोले बाहुन, क्षेत्री, कुशवाहा, लामा, मगर लगायतका जातिहरुपनि घोंगी खानथालेको प्रमिला मुसहरले बताइन् । बजारका घोंगीको माग बढेको र पहिला जस्तो जहितही पानी जमेको ठाउँमा घोंगी नपाउँदा घोंगी महगिएको सानु मुसहरले बताइन् ।उनले भनिन्,‘चार बर्षअघी प्रतिकिलो १० रुपैंयामा पाउने घोंगीको लोकप्रियता बढेपछी अहिले ५० रुपैंयामा पुग्यो ।’