
शिरीष डेक्स
महेन्द्रनगर (धनुषा )२०७४ चैत्र १२ गते
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश २ को प्रदेश सभा बैठकमा आज सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि छलफल हुने भएको छ । ६ चैतमा प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा उक्त बिधेयक दर्ता गराएको थियो ।
२९ पृष्ठको सो बिधेयकमा प्रदेश सन्चित कोष तथा आर्थिक विषयसँग सम्बन्धित कानुनहरु समाबेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बिसुकुमार केसीले जानकारी दिए । प्रदेश २ मा पहिलो बिधेयकको रुपमा सो बिधेयक पेश हुँदै छ । सबै प्रदेश सभा सदस्यहरुको लागि सो बिधेयकको एक एक प्रति दिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

आर्थिक विधेयक ४ महिनाका लागि तयार पारिएको छ । कार्यविधिमा प्रदेश सरकारको ४ महिनाको खर्च गर्ने अधिकार र त्योसँग सम्बन्धित नियम सर्त समेटिएको छ । यस अघि प्रक्रिया नबुझेर प्रदेश सभामा बैठक स्थगित हुँदै आएको थियो ।
कांग्रेसले एक्लै प्रतिपक्षमा बस्न पाउनु् पर्ने दाबी
नेपाली कांग्रेसले प्रदेश २ को संसदमा प्रतिपक्षबारेमा विवाद भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीचमा प्रतिपक्षलाई लिएर विवाद भएको हो। सोमबारको प्रदेश सभाको बैठकमा कांग्रेसले एक्लै प्रतिपक्षमा बस्न पाउनु् पर्ने दाबी गरेको छ।
प्रदेशसभाको आठौं बैठकको कार्यविधि सुरु हुन नपाउँदै कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांसदले टेबल ठोकेर सभामुख समक्ष विरोध जनाएका छन्।सभामुख सरोज यादवले विरोधमा उभिएका कांग्रेसका सांसदलाई बसेर कुरा राख्न आग्रह गरे।

सभामुखको आग्रह स्विकार्दै कांग्रेसको तर्फबाट सर्लाही –४ का सांसद उपेन्द्रप्रसाद कुशवाहाले मधेसवादी दलको सरकारलाई कांग्रेस बाहेक सबै दलले समर्थन गरेकोले प्रतिपक्षमा बस्ने अधिकार आफुहरुले मात्र पाउनु पर्ने बताए।
उनले प्रश्न गर्दै भने, ‘सरकारलाई समर्थन गरिसकेका दललाई कसरी प्रतिपक्षी भन्ने, यस कुरालाई सभामुख महोदयले प्रष्ट्याई दिनु प¥यो ?’
कांग्रेसले सरकारलाई विश्वासको मत नदिएकोले प्रदेश सभामा कांग्रेसलाई मात्र प्रतिपक्षमा बस्ने सुविधा पाउने व्यवस्था मिलाउन कुशवाहाले माग गरे ।
हाल प्रदेश २ को संसदमा नेकपा एमाले र नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखिएको छ।सभामुख यादवले प्रतिपक्षबारे चाँडै निश्कर्ष निकालिने आश्वासन दिएपछि संसद बैठक अघि बढेको थियो। सभामुख यादवले पाँच दिनभित्र अन्य स्थानमा भएका प्रावधानलाई अध्ययन गरी निर्णय गरिने आश्वासन दिएका छन्।

सरकारलाई विश्वासको मत दिने क्रममा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रतिपक्षमा बसेर सरकारलाई समर्थन गर्ने बताएका थिए। कांग्रेसले भने सरकारलाई समर्थन गरिसकेको पार्टीलाई विपक्षमा बस्ने अधिकार नरहेको बताउदै आएको छ।