काठमाडौं, २९ फागुन ।
राष्ट्रपतिको चुनावका लागि १८ जना सांसद अनुपस्थित भएका छन् ।आज भएको मतदानमा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँचजना र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका हुन् । दुवै उम्मेद्वारलाई मतदान नगर्ने निर्णय गरेका कारण नयाँ शक्ति, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारले मतदान गरेनन् ।संघीय संसदका ३ सय २६ जनाले मतदान गरेका छन् । मतदानमा डाक्टर बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।त्यस्तै प्रदेशसभाका पाँचसय ४९ सदस्य मध्ये पाँचसय ३६ जनाले राष्ट्रपतिको चुनावमा मतदान गरेका छन् भने १३ जना अनुपस्थित भएका छन् ।अनुपस्थित हुनेमा प्रेमबहादुर तामाङ, प्रभात गिरी, धनमाया पोख्रेल, रमेश पौडेल, मनिशकुमार सुमन, कृष्णप्रसाद चौधरी, सुरेन्द्र गोसाईं, हरीशरण आचार्य, सृजना सैजु, हिमबहादुर शाही, डिन पन्त, शोभा शाक्य, विराजभक्त श्रेष्ठ छन् ।
आजै बेलुकीसम्ममा राष्ट्रपतिको मतगणनाको अन्तिम परिणाम आउने आयोगले जनाएको छ । वाम गठबन्धनका दलको समर्थन रहेकाले विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुने निश्चित जस्तै छ ।