कञ्चनपुर, २७ फागुन ।
रेडक्रस शाखा झलारीलाई कार्यालय भवन बनाउन १० धुर जमिन उपलब्ध गराउने घोषणा गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको ४२औँ जिल्ला सभालाई शनिबार सम्बोधन गर्दै जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
नगर प्रमुख ऐरले रेडक्रस जनतासँग धैरै नजिक भएर काम गर्ने संस्था भएकाले सबै क्षेत्रबाट सहयोगी संस्थाको सर्वाङ्गीण विकासका लागि अगाडि सर्नुपर्ने बताउनुभयो । रेडक्रसको भौतिक पूर्वाधार विकासका लागि वडा नं ८ का तर्फ बाट रु ५० हजार रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।
नगर उप–प्रमुख तुलसी हमालले कञ्चनपुर जिल्ला शाखाको कामको प्रशंसा गर्दै हरेक क्षेत्रमा जिल्ला शाखाले नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो । जिल्ला शाखाद्वारा सम्पादित गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति तथा आगामी आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित कार्यक्रम शाखाका मन्त्री रघुनाथ भट्टले सभामा प्रस्तुत गर्नुभयो ।
आगामी वर्षका लागि रु ६ करोड ६५ लाख ९ हजार ५२९ को बजेट उहाँले सभासमक्ष प्रस्तुत गर्नुभयो । उहाँले जिल्लामा नेपाल रेडक्रस सोसाइटीको एक शाखा, १३ उपशाखा, जुनियर सर्कल ६१, युवा सर्कल पाँच वटा संस्थागत संरचना रहेको र जिल्लामा एक जना यशस्कर सदस्य १० जना, विशिष्ट सदस्य दुई, दुई हजार १५६ आजीवन सदस्य र २६२ जना साधारण सदस्य रहेको र यसको नेटवर्क टोलसम्म रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई अतुलनीय योगदान पु¥याएबापत कदर गर्दै पूर्वरेडक्रसकर्मी चित्राङ्ग थापा, वीरबहादुर रोकाया, महेन्द्रबहादुर बस्नेत र नन्दादेवी खत्रीलाई सम्मान गरिएको थियो भने १० जनालाई मायाँको चिनो प्रदान गरिएको थियो । रासस
शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184
© 2020 Shirish News | By HostMero